२०७९ साल माघ १५ गते अाईतबार

अल्छीका अधिकार

यूथ टुडे संवाददाता १० माघ २०७९, मङ्गलबार ०३:३९ मा प्रकाशित

डा. टीकाराम पोखरेल

मैले सानो हुँदा बुढापाकाबाट सुनेको हुँ– ‘अल्छे तिघ्रोे, स्वादे जिब्रो ।’ अरुलाई भन्दा अल्छीलाई बढी नै स्वादिलो खानपर्ने भएर नै यो टुक्का बनेको हुनुपर्छ । बूढापाकाले यो टुक्का जुन आशयले बनाएको भए पनि अब जमाना बदलगया । बदलिएको जमानामा उखान टुक्काको पनि बदलिएको व्याख्या हुनुपर्छ । बदलिएको व्याख्याअनुसार अल्छीले स्वादिष्ट खाना पाउनैपर्छ । यो अल्छीको जन्मसिद्ध अधिकार हो ।

हुन त ‘अल्छे तिघ्रोे स्वादे जिब्रो’लाई काउण्टर दिँदै कसैकसैले ‘कर्म अनुसारको फल’ भनेर अल्छीको विपक्षमा तर्क पनि नगरेका होइनन् । तर हाम्रो जस्तो जताततै अल्छी भएको देशमा ‘कर्म अनुसारको फल’ त्यति चलेन । बरु ‘भाग्यमानीको भुतै कमारो’ भनेर उपरखुट्टी लगाएर बस्नेले नै देशमा रजाइँ गरे । ‘डोकामा दुध अडिँदैन’ भन्नेहरुलाई ‘भाग्यमा भए गोरु ब्याउँछ’ जस्ता उखानले अतिक्रमण गरिसक्यो । अल्छी गरेर खानेका अगाडि काम गरेर खाने लठुवाहरुको अस्तित्व नै लोप भयो । अल्छीको महिमा इतिहासमा अपरम्पार छ ।

अल्छीको महिमा परापूर्व कालदेखि अपरम्पार भए तापनि आजकल केही आधुनिक भनाउँदाहरुले अल्छीलाई अलि हेयपूर्ण व्यवहार गर्न खोजेको आभाष हुन थालेको छ । यसले मजस्तो अल्छीपक्षधरको मर्र्ममा चोट पुग्नु स्वाभाविक हो । त्यसैले म भन्छु– ‘‘खबरदार ! अल्छीको विरुद्धमा विष वमन गर्न पाइँदैन । हामी सबैले एकताबद्ध भएर अल्छीका पक्षमा जोडदार आवाज उठाउनुपर्छ ।’

आजकल सबै वर्ग, लिङ्ग, क्षेत्र, जातजाति, अल्पसंख्यक जस्ता समुदायको अधिकार सुनिश्चित हुनुपर्ने आवाज उठेको छ । सबैले आफ्ना अधिकारको दाबी गरिरहेका छन् । संविधान निर्माण गर्ने बेलामा माग्नेका अधिकार संविधानमा नै लेखिदिनु पर्यो भनेर संसद भवन वरिपरि माग्नेको समूहले नाराजुलुस गरेको तपाईँ अल्छीका विरोधिहरुलाई थाहा हुनुपर्ने होइन र ?

साँच्चै भन्ने हो भने माग्नेका भन्दा बढी त अल्छीका अधिकार सुनिश्चित हुनुपर्छ भन्ने मलाई लाग्छ । माग्नेले त मागेर पनि ज्यान पाल्छ । तर माग्न समेत अल्छी गर्नेले कसरी ज्यान पाल्छ । अनि अल्छी चाहिँ भोकभोकै मर्नु ? के तिनीहरुको बाँच्ने अधिकार छैन ?

मान्छेलाई भोकै मार्नु हुन्छ भने हुन्छ भन्नुस् । मार्नु हुन्न भने अब अल्छीका अधिकार सुनिश्चित गरौँ । अरु काम पछि गरौँला । अहिले अल्छीको संरक्षण गरौँ । 

अल्छीलाई मन नपराउने हो भने यो देशले अल्छी किन जन्मायो ? राज्यमाथि प्रश्न गरौँ । जन्माउने दोषी कि जन्मने दोषी ? अल्छी जन्माउने जाँगरिला बाबुआमालाई पो प्रश्न गर्ने कि ?

अल्छीलाई अल्छी लाग्छ त विचारा त्यो अल्छीको के दोष ? उसले कतैबाट अल्छी किनेर ल्याएर आफ्नो शरीरमा प्रत्यारोपण गरेको त होइन नि । अल्छीले न त कुनै मन्दिरमा मूर्तिको अगाडि हात जोडेर ‘मलाई अल्छी हुने बरदान दिनुस्’ भनेर नै प्रार्थना गरेको छ, न त कुनै विश्विविद्यालयमा गएर अल्छी विद्या पढेको छ । त्यसैले दोषी अल्छी होइन, अल्छी जन्माउने यो देश नै दोषी हो । 

साँच्चैँ भन्ने हो भने अल्छी जस्तो इमान्दार र निर्दोष मान्छे मैले यो ससारमा कोही देखिनँ । त्यसैले उनीहरुको अस्तित्व जोगाउनुपर्छ । यस्ता इमान्दार र निर्दोष मान्छेको अधिकार सुरक्षित गर्न अब हामीले सामूहिक अभियान नै चलाउनुपर्छ । आउनुस्, अभियानमा साथ दिनुस् । अल्छीको पक्षमा आवाज उठाउनुस्, मसँगै नारा लगाउनुस् ।

अल्छी हुन – पाउनै पर्छ ।

सुतेर खान – आउनै पर्छ ।

हाइ काढ्न – पाउनै पर्छ ।

कुम्भकर्ण झैँ – निदाउनैपर्छ ।

अल्छी हुने – अधिकार हो ।

अधिकार सुनिश्चित – हुनै पर्छ ।

अल्छी एकता – जिन्दाबाद ।

अल्छी विरोधि – मुर्दावाद ।