काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले देश र जनताको लागि सबै दलहरूसँग छलफल गरेर अघि बढ्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)सँगको बैठकपश्चात् संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले एमसीसीबारे छलफल भइरहेको भन्दै उपयुक्त विन्दुमा पुगेर निर्णय गर्ने बताए ।
उनले भने, ‘अध्यक्ष ओलीको भाषामा भन्दा हामी हामी खुत्रुके होइनौँ, सबै कुरा सिदिएपछि फुटाएर काम चलाउने, हामी यो देशको संविधान र सिस्टमसँग नजिक छौँ ।’

उनले माओवादी केन्द्रसँग सकारात्मक रूपमा छलफल अघि बढेको पनि बताए । माओवादीसँग पुनः सहकार्य हुन लागेको हो भन्ने प्रश्नमा भने उनले परिस्थिती त्यो लेभलमा नपुगेको बताए ।
उनले धेरै समय पश्चात् यो तहमा गम्भिर भएर छलफल भएको भन्दै उनले माओवादीसँग पुनः छलफल गर्दै जाने बताए । छलफलमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल सहभागी थिए । यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता देव गुरुङ र शक्ति बस्नेत सहभागी थिए ।