काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन निर्देशन दिएको छ । आयोगले कार्यालयमा उनलाई आज बोलाएर घटनाबारे जानकारी लिँदै यस्तो निर्देशन दिएको हो ।

मन्त्रीको अभिव्यक्ति र यसबाट सिर्जित अवस्थाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । माघ ५ गते समाजवादी युवा संघ रौतहटले गौरमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले उत्तेजनापूर्ण भाषण गरेकी थिइन्।
आयोगले जानकारी लिने क्रममा मन्त्री यादवले आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगे नि कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको बताएकी थिइन् ।

आयोगले अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक अधिकार भएपनि त्यो अनियन्त्रित र सीमाविहीन हुन नसक्ने जनाएको छ।