बाँके । उनी सानै थिइन, उनी बिरामी हुँदा, ज्वरो आउँदा उनकी आमा र बुबा उनलाई पटक–पटक अस्पताल लग थिए ।
उनी जति पटक अस्पताल जान्थिन, आफूलाई चेकजाँच गर्ने डाक्टरलाई देख्ने गर्थिन । अनि उनको मनमा उत्पन्न हुन्थ्यो, डाक्टर बन्ने सपना । आमा र बुबालाई उनी भन्ने गर्थिन, ‘मम्मी पापा म पनि यस्तै डाक्टर हुने है।’
उनको कुरा सुनेर आमा नूर जहाँ र बुबा मैनुद्दीन मियाँ उनलाई हौस्याउँथिए । अनि उनी आफ्नो सपना पुरा गर्न मेहनत गरेर पढ्ने गर्थिन । र, सन् २००७ मा आफ्नो सपना पूरा गरेरै छोडिन, नेपालगंज मेडिकल कालेजमा कार्यरत प्रसुति तथा स्त्री बिशेषज्ञ डाक्टर कमर जहाँले । आमा बुबाको सपना पुरा गर्न पाएको उहाँ खुशी हुनुहुन्छ ।
उमेरले उनी ४१ कटिसकेका छन् । तर उनको जोस जाँगर देखेर लाग्दैन उनी ४१ वर्षकि छन् । भर्खरै पास आउट भएर उपचारमा खटिएका नयाँ चिकित्सकको भन्दा कति पनि कम छैन उनको जोस । डा. कमर जहाँ विगत १५ वर्षदेखि निरन्तर बिरामीको सेवामा खटिरहनु भएको छ । उहाँ डाक्टरी पेशामा रमाइरहनु भएको छ ।
पाकिस्तानमा एमबीबिएस गरेर फर्किए पछि काठमार्डौ युनिर्भसिटीबाट एमडी गरेपछि उहाँ प्रसुती एंव स्त्री रोग बिशेषज्ञ भएर मेडिकल कालेज नेपालगंजमा काम सुरु गर्नु भयो । अस्पतालमा उहाँको प्रबेश संगै महिलाहरुमा उत्साहको वातावरण बन्यो । पुरुष डाक्टर संग उपचार गराउनु पर्ने बाध्यता एकतिर थियो भने अर्को तिर अवधी भाषी महिलाहरुलाई भाषाको समस्याले झनै पिरोल्ने गरेको थियो तर डाक्टर कमर जहाँको आगमनले यी सबै समस्याको अन्त्य मात्र गरेन् गरिब असहायहरुलाई निशुल्क उपचार प्रदान गरेर सम्मानको पत्र बन्नु भयो ।
पितृसत्तात्मक सामाजिक–सांस्कृतिक मनोवृत्ति
डाक्टर कमर जहाँ युथ टुडे संग कुरा गर्दै उहाँले समाजलाई यसरी चित्रण गर्नु भयो, पितृसत्तात्मक सामाजिक–सांस्कृतिक मनोवृत्ति हाबी भएको माहोलमा महिला त्यो माथि पनि मुस्लिम महिलालाई अझ बढी चुनौति रहेको बताउनु भयो । पिछडिएको वर्गका रूपमा रहेको मुस्लिम समुदायका महिला अन्य महिलाभन्दा धेरै पछाडि रहेको उहाँको भनाइ थियो । अभिभावकले पढाइभन्दा सानै उमेरमा विवाह गरिदिने भएका कारण उनीहरु अगाडि बढ्न सक्दैनन् । तर अभिभावकले सहयोग गरेमा मुस्लिम समुदायका महिलाले पनि केही गर्न सक्ने प्रमाण बन्नु भएको छ डाक्टर कमर जहाँ ।
पितृसत्तात्मक सामाजिक–सांस्कृतिक मनोवृत्तिका बिच बिभिन्न बाधा अवरोधहरु पार गर्दै स्वास्थ्य सेवा दिदै आउनु भएको छ डाक्टर कमर जहाँ । उहाँ भन्नु हुन्छ, प्रसूति सेवा भन्नाले कुनै पनि महिलालाई गर्भवती भएपछि गरिने सेवा हो । त्यसलाई रोग भन्न मिल्दैन । किनभने प्रसूति प्राकृतिक विषय हो । स्त्री रोग भन्नाले कुनै पनि महिलाको यौन अङ्गहरू र भित्री यौनाङ्ग, पाठेघरको अण्डा, अण्डाशय र पाठेघरको मुखसम्बन्धी बिरामी छ भने त्यसलाई स्त्री रोग भनिन्छ । अस्पतालमा बिभिन्न जिल्लाका सामान्य सुत्केरी गराउनेदेखि लिएर स्त्रीसम्बन्धी जटिल रोगका बिरामीहरू पनि आउने गर्दछन् । यहाँ सुगम देखि विभिन्न दुर्गम स्थानबाट पनि बिरामी आउने गर्छन् । जिल्लामा प्रसूति सेवा वा स्त्री रोग सेवामा जति पनि जटिल समस्याका केशहरू हुन्छन् ती सबै नेपालगंज मेडिकल कालेजमै आउने गरेको सुनाईन् । उहाँले ‘सुत्केरीहरुलाई ६ महिना सम्म स्तनपान गराउन आफूले सल्लाह दिने गरे पनि आफनै बच्चालाई उक्त अधिकारबाट बन्चीत राखेर स्वास्थ्य सेवामा खटिनु परेको छ ।’
डा. कमर जहाँले भन्नु भयो, प्रसूति गृहमा आउने बिरामीहरू बढीजसो मध्यम वर्गका आउनुहुन्छ । प्रसूति गृहमा धेरै विश्वास भएर होला, उच्च वर्गको मानिसहरू पनि निजी अस्पतालमा उपचार गराएर वा बाहिरको डाक्टरले शल्यक्रिया गर्नुपर्छ भनिसकेपछि एकपटक प्रसूति गृहका डाक्टरलाई पनि देखाउनुपर्छ भनेर आउने गर्नुहुन्छ । सल्लाह सुझाव लिने गर्नुहुन्छ । शल्यक्रियाका लागि काखमा च्यापेको बच्चालाई घरमा अरुको भरमा छोडर जानु परेको सुनाउनु भयो । उहाँले नेपालगंजमो गुरुद्धाराको पूर्व पट्टी आफनो निजि क्लिनिक खोलेर सेवा दिदै आएको सुनाउनु भयो ।
मलाई अफ्ठ्यारो लाग्दैन
एमविविएस सकेर पहिलो पटक बिरामीको उपचारमा जाँदा मलाई केही डर लागेको थियो । तर एक–दुई सातापछि सामान्य लाग्न थाल्यो । मजाले काम गर्न सक्षम भएँ । प्रसुति तथा तथा स्त्री रोगको विषय अध्ययनपछि पहिलोपटक स्त्रीरोगको बिरामी हेर्दा मलाई पनि अफ्ठ्यारो लागेको थियो । कलेजमा पढ्दा नै हामीले स्त्रीरोगका बारेमा धेरै जानकारी लिएको भए पनि प्रत्यक्ष बिरामीको उपचार गर्नुपर्दा केही अप्ठ्यारो लाग्नु स्वभाविकै हो । तर, बिरामीको उपचार गर्नु नै हाम्रो पेसा भएकाले पछि अभ्यस्त भइयो ।
अहिले त म जो बिरामी आए पनि प्रसुति तथा स्त्रीरोगका बारेमा खुलेर कुरा गरी उपचार गर्छु । अन्य रोगभन्दा अझ स्त्रीरोग बढी संवेदनशील हुँनाले म आफ्नो काममा अत्यन्तै संवेदनशील हुने गर्छु । म आफै लजाउन थालेँ भने कसरी उपचार गर्ने ? महिला भएर प्रसुति तथा स्त्री रोग विशेषज्ञका रूपमा काम गर्दा पेसागत रूपमा पनि कुनै अप्ठ्यारो परेको छैन ।
चिकित्सकको पेसा नै बिरामीको उपचार गर्नु हो । बिरामीलाई जस्तोसुकै रोग लागेको भए पनि एउटा चिकित्सकले उसलाई पूर्ण रूपमा निको पारेर पठाउने प्रयास गर्छ । आफूले हेरेको बिरामी पूर्ण रूपमा निको भएर जाँदा बिरामीको अनुहारमा देखिने खुसीले नै हामी चिकित्सकहरूलाई खुसी र सन्तुष्टि मिल्ने गरेको डाक्टर जहाँको भनाई थियो ।
उनले प्रत्येक अभिभावकले आफ्नो छोरीलाई शिक्षा दिए देश परिवर्तन हुन समय नलाग्ने र महिला पनि जागरुक बन्दै जाने विश्वास व्यक्त गर्नु भयो ।