देवीदत्त शर्मा

माओवादी केन्द्रका प्रचार तथा प्रकाशन विभागका उप प्रमुख क. महेश्वर दाहालले आइतवारको झिल्कोमा ‘स्थानीय निर्वाचन प्रचार योजना र महत्व’ बारे महत्वपूर्ण वैचारिक, व्यावहारिक र संगठनात्मक दिशानिर्देश गर्नुभएको छ । त्यो विषय नदोहोरिने गरी तर त्यसकै पुरक हुने गरी स्थानीय निर्वाचन, त्यसले निर्माण गर्नुपर्ने जनप्रतिनिधित्व र आज अपेक्षित संचारकर्मबारे म आफ्नो सामान्य टिप्पणी प्रस्तुत गर्दछु । र, यो अति आवश्यक बहसमा भाग लिन आम संचारकर्मी, राजनीतिकर्मी एवं बौद्धिकहरूको ध्यान आकृष्ट गराउन चाहन्छु ।
स्थानीय तह निर्वाचन आउन चार हप्ता पनि बाँकी छैन । चुनावी सरगर्मी ह्वात्तै बढेको छ । आम जनमानसको चासो र छलफल अबको स्थानीय नेतृत्व कस्तो होला वा कस्तो हुनुपर्छ भन्नेमा बढी केन्द्रीत छ । संविधानले तीन तहको सरकारको कल्पना गरेको छ । संघीय तथा प्रदेश सरकारभन्दा स्थानीय तहको सरकार जनताको दैन्दिनको सरोकारसँग प्रत्यक्ष जोडिएको हुन्छ । यसैले पनि आम चासो र छलफल कुन दल वा कुन ब्यक्तित्व भन्नेमा संकेन्द्रीत हुनु स्वाभाविक हो । यसले आमसमुदायलाई आफ्ना जनप्रतिनिधिको योग्यता र क्षमताबारे बहुत समवेदनशीलता छ भन्ने कुरालाई नै उजागर गर्दछ ।

दलीय व्यवस्थामा जनप्रतिनिधित्वका लागि मुलतः दलहरू नै अग्रसर हुन्छन् । जनताको मन जित्ने विश्वासमा रहेका स्वतन्त्र व्यक्ति पनि जनअनुमोदित हुन पाउँछन् । हरेकलाई चुनिने र चुन्न पाउने अधिकार छ । त्यसैले आफ्नो तहमा कस्तो प्रतिनिधि चुन्ने भन्नेमा आम समुदाय सचेत हुनु जरुरी पनि छ ।
जनप्रतिनिधि चुन्नुको अर्थ एउटा आवधिक औपचारिकता मात्र होइन । जतिसुकै बलियो दल होस, त्यसले जो कसैलाई लादेर जनअनुमोदित हुने सोच्यो भने भोलि त्यो जनताप्रतिको वेइमानी सावित हुनसक्छ । जनताका दैनिक सुखदुःखमा आत्मीय सहयोगी मात्र होइन, स्रोतहरूलाई सामुदायिक विकासका लागि परिचालन र व्यवस्थापन गर्नसक्ने नेतृत्व स्थानीय तहमा आवश्यक छ ।
भन्नुको अर्थ स्थानीय तहको नेतृत्व राजनीतिक भएर मात्र पुग्दैन । ऊ जनतासँग भिजेको हुनुपर्छ । ऊ व्यवस्थापक पनि हुनुपर्छ । ऊ विवादरहित हुनुपर्छ । नैतिकवान, सदाचारी, इमान्दार र कर्तव्यनिष्ठ हुनुपर्छ । मूल कुरा संविधानले निर्दिष्ट गरेको समाजवादको आधार सम्पन्न गर्ने लक्ष्य यात्री हुनुपर्छ ऊ । विकास भन्नु पुँजीबजारले थोपरेको चमकधमक मात्र होइन । कालोपत्रे बाटो मात्र पनि होइन । सुविधासम्पन्न अस्पताल र स्कुल मात्रै पनि होइन । त्यहाँ जनताको आर्थिक पहुँच पुग्ने कुरा नै मुल विकास हो । जनताको दैनिक जीवनस्तरको उन्नयन र सामुदायिक अपनत्व नै विकास हो । सडक, कृषि, पर्यटन, खानेपानी, उन्नत उत्पादन, उत्पादनको सहज क्रयविक्रय जस्ता हरेक विकासको व्यापार होइन, ती विकासको व्यवस्थापन मूल कुरा हो ।आजसम्म केन्द्रीकृत राज्यसंयन्त्रले नाफाको शर्तमा थोपरेका सामान्य विकासले जनताको जीवनस्तर वदलिएन । त्यसैले संघीय र स्थानीय बिकासको अवधारणा आयो । त्यो पनि नाफाकेन्द्रीत हुनु आजको विकास अबधारणाकै त्रुटि हो ।
हो, त्यसैले हामीलाई विकास गर्ने तर सामुदायिक पहुँच र अपनत्व निर्माण गर्ने नेतृत्व चाहिएको छ । सामाजिक चेतनाको सीमाबीच हरेक आदर्श भएको नेतृत्व त हामी नपाउँला तर एक सिर्जनात्मक, एक आलोचनात्मक, एक लोकतान्त्रिक र एक समाजवाद उन्मुख नेतृत्व हाम्रो वडा र पालिकामा हुनैपर्छ । त्यसखालको नेतृत्व ल्याउन दलहरूलाई दवाव दिने र हामी आफैं पनि सचेत बन्ने कुरा आम चेतनामा भर पर्छ । त्यो चेतना निर्माणमा मुलतः संचार माध्यमको भूमिका महत्वपूर्ण हुन आउँछ ।
निर्वाचनमा संचारमाध्यमको भूमिकाबारे प्रशस्तै छलफल भएका छन् । भर्खरै मात्र पनि प्रेस काउन्सिल नेपालले स्थानीय निर्वाचन केन्द्रित एक अपिल जारी गरेर पत्रकारहरूलाई निर्वाचनमा पत्रकारिताको आचारसंहिता सम्झाएको छ । प्रेस काउन्सिलले औपचारिकता देखाउनु एउटा कुरा, समाजमा ’वाचडग’को भूमिकामा रहनुपर्ने संचारजगतसँग जनतामा भने धेरै अपेक्षा र आशा छन् । ती अपेक्षा र आशाहरू प्रेस काउन्सिलले सबैलाई एउटै डालोमा हालेर आग्रह गरे जसरी सपाट निक्र्याैल भने हुन सक्दैनन् ।
संचार क्षेत्र तथ्यपरक सूचना, विश्लेषण, अनुसन्धान र आफ्नो अधिकार आवाजको स्रोत बनोस भन्ने आम अपेक्षामा के संचार जगत खरो उत्रिएको छ ? अझ, निर्वाचन जस्तो खास सन्दर्भमा संचारसँग समुदायको के अपेक्षा हुन्छ ? यसबारे संचार जगत आफै घोत्लिनु जरुरी छ । र, निर्वाचन जस्ता सन्दर्भ संचार माध्यम स्वयंको मूल्यांकन हुने एक उचित अवसर हो । यहाँ कुनै निरपेक्ष निष्पक्षताको कुरा मात्रै छैन, सापेक्ष मूल्यपद्धतिको कुरा पनि छ । कर्पोरेट संचार माध्यमले आज चुनावको मुखमा जेजस्ता व्यापार स्वार्थका मुद्दाहरू स्थापित गरिरहेका छन, जनआवाज बोक्नुपर्ने आफ्नो दायित्व विमुख भएर ती घरानियाँका मुखपत्रका रूपमा देखिएका छन् ।संचारको भूमिकाबारे चर्चा गर्दा हामी चेतनाको कुन चरणमा गुज्रदैं गरेको समाजमा छौं र संचारमा ती चेतनाहरूलाई प्रस्तुत गर्ने, बुझ्ने र व्याख्या गर्ने सन्दर्भमा आग्रह वा पूर्वाग्रहहरू छन कि छैनन् ? भन्ने मूल कुरा हो । नेपाल एक बहुभाषिक, बहु साँस्कृतिक, बहु धार्मिक मात्रै होइन, राजनीतिक दृष्टिले पनि बहु वैचारिक विविधता भएको देश हो । यो विविधतालाई संविधानसम्मत पछ्याइएको छ कि छैन, विकास अवधारणालाई प्रादेशिक वा सामुदायिक अपनत्व दिइएको छ कि छैन र त्यस क्रममा आएका अन्तरविरोधहरूलाई स्वार्थपरक भएर बुझिदैछ कि आग्रहहीन भएर ? त्यसलाई जुन रुपको आग्रही विषयका रूपमा प्रस्तुत गरिएको छ, त्यस कर्मच्युत भूमिकाका लागि संचार क्षेत्रले मम भन्न ढिला भइसकेको छ ।
समाजको सबै विविधताको असर संचार माध्यममा पनि छ । हुन्छ पनि । तर, आजको नेपालका सबै विविधताहरू संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा अभिब्यक्त भएको छ । संविधानमा केही असन्तुष्टि राख्नेहरूले पनि संविधानलाई मुलतः साझा ठानेका छन् । परिवर्तन र परिमार्जन गर्दै लानुपर्ने सोचेका छन् । संचारले भूमिका खेल्ने पनि सर्वस्वीकार्य संबैधानिक पद्धतिका लागि हो । साझा लोकतान्त्रिक पद्धतिका लागि हो । संचार माध्यमले यस मान्यता बाहिर देखिएर विषय बढाइचढाइ गर्नु आफैं प्रतिगामीपथको यात्री हुनु हो । राजनीतिक प्रतिगमनलाई त परास्त गरिसकेको समाज चेतनाले संचार प्रतिगमनलाई पत्याउने कुरा किमार्थ आउँदैन ।
त्यसैले हरेक सामाजिक, सामुदायिक र वैचारिक विविधतालाई स्वतः संवोधन गर्नु र त्यस परिवेशलाई बैज्ञानिक प्रगतिका लागि उत्साहित गर्नु संचार माध्यमको स्वधर्म हो । त्यसको एउटै शर्त समाजलाई अर्थराजनीतिक दृष्टिले विशृङ्खल बनाउने वा प्रयोग भइसकेका हुकुमी राजनीतितिर डोहो¥याउने धरातल निर्माण गर्ने भूमिका संचार माध्यमको हुनु हुँदैन । समाजवादको आधार तयार गर्ने संवैधानिक लक्ष्यका लागि हरेक आवधिक निर्वाचनहरूको महत्वपूर्ण मूल्य छ । जनप्रतिनिधि भएका र हुन्छौं भन्ने पार्टी र व्यक्तिहरूको मूल्यांकन गर्ने सापेक्ष उत्तम विधि हो यो । सर्सती हेर्दा लोकतन्त्रको सजिलो र मोटो कुरा यही हो । लोकतन्त्रमा निर्वाचन त आउँछ, जान्छ । तर, त्यसले प्रगति वा अबन्नतिको एक अमिट प्रभाव छाडेको हुन्छ । यस खास समयमा विषय विभक्त हुने गरी परिस्थिति हुँडल्ने कर्पोरेट नियत संचार क्षेत्रमा समेत अस्वाभाविक रुपमा देखिनु चिन्ताजनक कुरा हो ।
संविधानको समाजवादी लक्ष्य एउटा औपचारिक गन्तव्य हो । मूल कुरा चाहिँ समाजका सबै प्रवृत्तिहरू सामुदायिक बिकास उत्तरदायीत्व पूरा गर्दै समाजवादको लक्ष्यसम्म पुग्न दत्तचित्त छन त ? भन्ने हो । मिडियाले ‘वाचडग’ भएर हेर्दा आजको दृश्यमा त्यसरी सबै दत्तचित्त छैनन् । राजनीतिक परिवर्तनलाई उल्ट्याउने, गतिशीलको सट्टा स्थिर बनाउनेहरू कोही अर्थहीन भ्यूटावरे विकास संस्कृतिका बाहक छन् भने कोही विकासलाई ब्यापारको स्वार्थमा मात्र बुझ्ने र लागू गर्नेहरू छन् । विकास एक सामुदायिक अपनत्व हो र त्यसबाट स्रोतविहीनहरूको आर्थिक जीवनमा परिवर्तन आउनुपर्छ भन्ने प्रवृत्तिलाई संचार जगतले चिन्न सक्नुपर्छ । विडम्बना चाहिँ आफूलाई अभिव्यक्तिका वाहक वा मूलधार हौं भन्ने संचार माध्यमहरू प्रवृत्तिगत रूपमा भ्यूटावरे व्यापार विकासका वाहकहरूको प्रचार यन्त्र भएर खडा छन् । तर, हामी नै समाजका आवाज हौं भनेर रमाइरहेका छन् ।
नेपाल जस्तो देशको आधारभूत रुपान्तरणका लागि निर्वाचनबाट सामुदायिक विकास र उन्नत समाजवाद संस्कृति बोक्ने नेतृत्व छनौट गर्नु आजको अनिवार्य आवश्यकता हो । त्यस गुणको बैचारिक नेतृत्व–आवश्यकता निर्माणका लागि समुदायलाई उत्साहित गर्नुपर्ने दायित्व बोकेका संचार माध्यमहरू पुँजीवादको ब्यापारिक र प्रतिगमनको गोलमटोल नेतृत्व निर्माणका लागि कस्सिनु अत्यन्तै दुःखद हो । आफूलाई मूलधारका अकाट्य ...पुर, ...पोस्ट र ...पाटी भन्ने संचार माध्यमहरू पुरानो राजनीतिको पुनरुत्थान र यथास्थितिको रक्षाकबच भएर प्रस्तुत हुनु ती स्वयंको विश्वसनियता हराउनु हो । देश कुन राजनीतिक अन्तरविरोधबाट गुज्रिएर आजको विन्दुमा पुग्यो अनि स्थिर भनिएको लोकतान्त्रिक गणतन्त्रमा पुगेर पनि फेरि अस्थिरता र संकटकालको चक्रमा झन्डै धकेलिएको देशमा आवधिक निर्वाचनमार्फत स्थिरता निर्माण गर्ने संवैधानिक बाटोको लय कसरी सम्भव भयो, संचार जगतले यति छिटै र यति सजिलै यो विर्सन मिल्छ ?माथि नै भनियो, आजको नेपाल विविधतामा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र ब्यबस्था भएको नेपाल हो । यसबाट पछाडि फर्किने छुट यो संबिधान मान्ने दलहरूलाई छैन । संचार माध्यमहरूलाई त झन छदैं छैन । बरु यसबाट पनि अगाडि बढ्ने बाटो फराकिलो छ । विज्ञानको नियम पनि यही हो । उन्नत लोकतन्त्र भन्नु वैज्ञानिक लोकतन्त्र हो । अझ वैज्ञानिक समाजवाद हो । स्वार्थहरू यस नियमका विरुद्ध हुनसक्छन् । तर, चेतना र गति त विज्ञानसम्मत नै हुन्छ नि ! जसले जति ’प्रोभोक’ गरे पनि संघीय लोकतान्त्रिक संचारको भूमिका भन्नु अग्रगमनको पक्षधरता लिनु नै हो । सामुदायिक विकासको पक्षधरता लिनु नै हो ।
लोकतन्त्रलाई नाम मात्रैको बनाएर मुठ्ठीभरहरूको औपचारिक बनाउने कि आम समुदायको आर्थिक विकासको आधार बनाउने ? यसमा बढी घोत्लिनुपर्ने संचार जगतले नै हो । आजसम्मको परिवर्तनको सैद्धान्तिक, बैचारिक आधार जोगाएर र समुदायगत स्वार्थमा एकाकार भएर अगाडि बढ्ने जनप्रतिनिधिलाई पहिला संचार माध्यमले नै चिन्न सक्नुपर्छ । अनि चिनाउन सक्नुपर्छ । त्यसका लागि जनतालाई हरदम सुसूचित गर्न सक्नुपर्छ । कसैप्रति विश्वास छैन भने विश्वास छैन भन्न सक्नुपर्छ । तर, आफ्नो कुत्सित स्वार्थका लागि आम सर्वसाधारणलाई गुमराहमा पार्न हुँदैन । सधैं समुदायगत हित र विकेन्द्रित आर्थिक–सामाजिक–राजनीतिक–साँस्कृतिक प्रगतिको संचारकर्म गर्नु लेखेर जीविका गर्छौं भन्नेहरूको धर्म हो, हुनुपर्छ ।