Dr. Md Ainuddin Bagban
विश्व भरी हरेक वर्ष जुलाई १३ तारिखको दिन विश्व एडीएचडी सचेतता दिवस मनाइने गरिन्छ। जसको शुरुवात सन् २०१२ देखि भएको थियो। यसको मुख्य उद्देश्य विश्वमा एडीएचडीबारे सही जानकारी दिएर जनचेतना एवं जागरुकता फैलाउनु तथा यस सम्बन्धि समाजमा विद्यमान गलत धारणाहरुलाई निर्मूल पार्नु हो। विभिन्न अध्ययनहरु अनुसार, विश्वमा ५% देखि ७% बच्चाहरु यसबाट ग्रसित रहेको पाइएको छ।
अटेंशन डेफिसिट हाइपरएक्टिविटी डिसऑर्डर (एडीएचडी)लाई नेपाली भाषामा ध्यानाभाव एवं अतिसक्रियता विकार भन्न सकिन्छ। यो एउटा न्युरो डेभेलपमेनटल डिसआर्डर हो। जसमा बिरामी अत्यन्त ध्यानहीन हुनुका साथै अत्यधिक सक्रिय र आवेगशील हुन्छ। यसका लक्षणहरु बच्चामा प्रायः जसो विद्यालय जाने उमेरमा देखिन थाल्छन र यो समस्या युवाहरुमा पनि हुन सक्दछ। यसलाई निम्न लक्षणहरुबाट पहिचान गरिन्छ।
लक्षणहरु:
Ø कुनै पनि कार्यमा लामो समयसम्म ध्यान केन्द्रित राख्न गाह्रो हुने l
Ø बढी ध्यान दिएर गर्ने क्रियाकलापहरु मन नपराउने, प्रायः गृहकार्य पुरा नगरी विद्यालय जाने l
Ø पढाई लेखाईमा ध्यान नहुनाले लापरवाही रुपमा गल्ती गरि रहने, कुरा सुनेर पनि नसुने झैं गरि वेवास्ता गर्ने l
Ø कुनै कामलाई क्रमबद्ध रूपमा गर्न नसक्ने, सरसामानहरुलाई मिलाएर राख्न नसक्ने, नियम अनुशासनको पालना गर्न नसक्ने l
Ø आफ्नो सरसामानहरु व्यवस्थित र सुरक्षित राख्न नसक्ने l
Ø वातावरणबाट सजिलै विचलित हुने, वरिपरिका वस्तुहरु प्रति बढी आकर्षित हुने र चलाउन खोज्ने l
Ø एक ठाउंमा शान्त भएर बसी रहन न सक्ने, हात खुट्टा चलाई रहने l
Ø स्थिर न बस्ने, बढी चक चक गरि रहने, कुद्ने, उफ्रिने बढी गर्ने l
Ø अरु साथीहरुसंग संयम भएर खेल्न न सक्ने, पालो पर्खिन न सक्ने l
Ø बोलै बोलै गर्ने, अरुले कुरा गरि राख्दा बीचमै फ्याट्ट बोलि हाल्ने, अरुको काममा अनावश्यक दखल गरि रहने, प्रश्न पुरा हुनु अगावै फ्याट्ट उत्तर भनि हाल्ने
कारणहरु:
Ø बंशानुगत हुनु
Ø सानै उमेरमा मस्तिष्क ज्वरो हुनु
Ø टाउकोमा गहिरो चोटपटक लाग्नु
Ø गर्भावस्थामा मद्यपान वा धुम्रपान गर्नु
Ø जन्मिदा बच्चाको तौल अत्यन्त कम हुनु
Ø वातावरणको प्रतिकूल असर हुनु
Ø मस्तिष्कमा रसायनहरुको गडबडी हुनु
सुझाव सल्लाहहरु:
Ø विद्यालयहरुमा शिक्षक तथा अभिभावकहरुलागि एडिएचडी सम्बन्धि जानकारीमूलक कार्यक्रमहरुको आयोजना गर्नु पर्दछ।
Ø समय समयमा विद्यालयहरुमा मानसिक स्वास्थ्य सम्बन्धि विशेष शिविरहरुको आयोजना गरि सम्पूर्ण विद्यार्थीहरुको जांच हुने व्यवस्था हुनु पर्दछ।
Ø शिक्षक शिक्षिकाहरुलाई मानसिक स्वास्थ्य समस्याहरुबाट ग्रसित बच्चाहरुलाई नियन्त्रण कसरी गर्ने बारे तालीम दिने व्यवस्था हुनु पर्दछ।
Ø सरकारले हरेक विद्यालयमा कम्तिमा एक जना तालीम प्राप्त बाल मनोवैज्ञानिक मनोपरामर्शदाता स्थायीरूपमा हुनु पर्ने नियम बनाउनु पर्दछ।
Ø सरकारले विद्यालय स्तरीय मानसिक स्वास्थ्य कार्यक्रमहरुको शुरुवातको लागि पहल र आवश्यक सहयोग गर्नु पर्दछ।
Ø सरकारले मानसिक स्वास्थ्य समस्या सम्बन्धि आधारभूत जानकारीहरुलाई मानसिक स्वास्थ्य शिक्षा अन्तर्गत विद्यालयको पाठ्यक्रममा समावेश गर्नु पर्दछ।
Ø समयमा नै बिरामीको औषधि उपचार गराउनुपर्दछ अन्यथा सिकाईमा समस्या तथा अन्य मानसिक स्वास्थ्य समस्याहरु पनि उत्पन्न हुन सक्दछन।
(लेखक नेपालगंज मेडिकल कलेजका नशा, यौन तथा मनोरोग विशेषज्ञ हुन l ainuddin.md@gmail.com)