काठमाडौं । एमसीसी संसदमा टेबल गरिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको दौडधुप बढेको छ ।

मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका प्रधानमन्त्री देउवा आज बिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार पुगेका छन् ।
संसदमा टेबल भएको एमसीसी पारित गर्नका लागि प्रधानमन्त्री देउवाले दौडधुप बढेको हो । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा रहेका छन् ।

मंगलबार भएको देउवा र ओलीबीचको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ । उक्त भेटमा देउवाले ओलीलाई एमसीसीमा सघाउन आग्रह गरेका थिए । तर, जवाफमा ओलीले आफूहरुको माग पूरा गरेपछि मात्र सघाउने बताएका थिए । एमालेले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।
यसैबीच आजै एमाले अध्यक्ष ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण बालकोट पुगेका छन् । एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाँड ओलीनिवास बालकोट गएका हुन् । भेटमा सत्तागठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ ।