बाँके । बाँकेबाट साउदी अरबको मक्कामदिना हज गर्न जाने हज यात्रीलाई आज एक कार्यक्रमका बिच बिदाइ तथा सम्मान गरिएको छ ।
मुस्लिमहरुले आयोजना गरेको उक्त कार्यक्रममा हज यात्रीहरूलाई माल्यार्पण र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष मोहम्मद हारुन हल्वाइले हज यात्राको सफलताको कामना गर्दै हज इस्लाम धर्मको पाँचौं आधारस्तम्भ भएको बताउनु भयो। उहाँले आर्थिक रूपमा सक्षम मुस्लिम समुदायका लागि हज अनिवार्य धार्मिक कर्तव्य भएको उल्लेख गर्नु भयो । त्यस्तै, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले हज यात्रीहरूलाई सुरक्षित र सफल यात्राको शुभकामना दिँदै समाजमा धार्मिक सद्भाव भंग गर्ने नकारात्मक गतिविधि बढिरहेकोले त्यस तर्फ सबै समुदायलाई चनाखो हुन जरुरी रहेको जिकिर गर्नुभयो । उहाँले यस्ता प्रवृत्तिलाई रोक्न धार्मिक सहिष्णुता र आपसी भाइचारा कायम गर्न सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्नु भएको थियो ।
बीपी चोक स्थित अबेर साँझ सम्म हज यात्रीहरुलाई बिदाई गरिएको हो । बिदाई गर्न महिला, पुरुष लगायतका सयौ आफन्त ओईरिएका थिए । छुट्टनिुपर्दाको पीडा आफन्तका आँखामा प्रस्टै देखिन्थ्यो । एक अर्कालाई लामो अंकमाल गर्दा हज यात्री 'भुलबस भएका गल्ती र कमि कमजोरी' बिर्सन पनि अनुरोध गरिरहेका थिए । हज यात्रीलाई गम्छा, टोपी तथा खादाले सम्मान र बिदाइ गरिएको हो ।
नेपालगञ्जका उपमेयर कमरुद्दिन राइ, दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिका निर्वतमान अध्यक्ष हाजी अब्दुल रहमान मियाँ, हज समितिका पुर्व सदस्य मेराज हिमाल, मुस्लिम अगुवाहरु मोहम्मद सरिफ बेगवान, साहिल अन्सारी,मुस्लिम धर्मगुरु, नागरिक समाजका अगुवा, समाजसेवी, र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति थियो ।
यस वर्ष बाँके बाट १५५ जना हज यात्रामा जानेहरूलाई जानुअघि बिदाइ सम्मान गरेको हो । ७५ जना हज यात्रीहरु बसबाट प्रस्थान गरेका छन् । भने केहि हज यात्रीहरु शनिवार बिमानबाट काठमाडौ जाने भएका छन् ।