बाँके । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैहिवसल्लमको जन्मजयन्ती ‘मोहम्मद डे’का अवसरमा बाँकेको जानकी गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ।
गाउँपालिकाले इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्वका रूपमा मनाइने मोहम्मद डेको अवसरमा गाउँपालिकाअन्तर्गतका कार्यालय तथा निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बिदासम्बन्धी सूचना गाउँपालिका अध्यक्ष छब्बन खाँ र प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले संयुक्त रूपमा हस्ताक्षर गरी जारी गर्नुभएको छ।
इस्लामिक पात्रोअनुसार रबिउल अव्वल महिनाको १२ तारिख हजरत मोहम्मद सल्लल्लाहु अलैहिवसल्लमको जन्मदिनका रूपमा मुस्लिम समुदायले श्रद्धा र उत्साहका साथ मनाउँदै आएका छन्। इस्लामिक मान्यताअनुसार उहाँको जन्म तत्कालीन अरबको मक्का क्षेत्रमा भएको मानिन्छ।
हजरत मोहम्मदले आफ्नो जीवन समाज सुधार, मानव कल्याण, नैतिक आचरण तथा व्यावहारिक धार्मिक शिक्षाको प्रचारप्रसारमा समर्पित गर्नुभएको मुस्लिम धर्मावलम्बीहरूको विश्वास छ। उहाँले समाजमा विद्यमान विभेद, अन्धविश्वास, कुरीति तथा विकृतिविरुद्ध आवाज उठाउँदै मानवता, समानता, भ्रातृत्व, सदाचार र सामाजिक न्यायको सन्देश प्रवाह गर्नुभएको थियो।
मोहम्मद डेको अवसरमा नेपालसहित विश्वका विभिन्न मुलुकमा मुस्लिम समुदायले धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी पैगम्बर मोहम्मदको जीवन, शिक्षा र योगदानको स्मरण गर्ने गरेका छन्।
गाउँपालिका अध्यक्ष छब्बन खाँले मोहम्मद डे मुस्लिम समुदायका लागि मात्र नभई समाजमा आपसी सद्भाव, सहिष्णुता, भाइचारा र मानवताको सन्देश प्रवाह गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सम्मान र सद्भाव कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले गाउँपालिकाले स्थानीय समुदायको धार्मिक तथा सांस्कृतिक भावनाको सम्मान गर्दै मोहम्मद डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभयो ।
जानकी गाउँपालिका मुस्लिम समुदायको उल्लेख्य बसोबास रहेको क्षेत्र भएकाले मोहम्मद डे यहाँ विशेष धार्मिक तथा सामाजिक महत्वका साथ मनाइँदै आएको छ। गाउँपालिकाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र विविधताबीचको एकतालाई स्थानीय तहको प्राथमिकतामा राख्दै आएको जनाएको छ।
मोहम्मद डेको अवसरमा गाउँपालिकाले सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्दै पर्वलाई शान्तिपूर्ण, मर्यादित र आपसी सद्भावका साथ मनाउन आग्रह गरेको छ।