बाँके । जानकी गाउँपालिका बाँकेको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा पालिकाभित्रका माध्यमिक विद्यालयहरूबीच अन्तरविद्यालय हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरूमा ज्ञान, तार्किक क्षमता, नेतृत्व, आत्मविश्वास र प्रस्तुतीकरण सीप अभिवृद्धि गर्दै प्रविधिमैत्री शिक्षातर्फ उन्मुख गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
आजको सूचना–प्रविधिको युगमा पाठ्यपुस्तकमा सीमित शिक्षाभन्दा सिर्जनात्मक सोच, विश्लेषण क्षमता, प्रभावकारी सञ्चारकला र डिजिटल युगसँग प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन आवश्यक रहेको सन्दर्भमा यस्ता कार्यक्रमले विद्यालय शिक्षालाई अझ गुणस्तरीय बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने बिश्वास गरिएको छ।
शिक्षा प्रमुख कृष्णाकुमारी भण्डारीका अनुसार हाजिरीजवाफ प्रतियोगितामा शिवपुरी माध्यमिक विद्यालय प्रथम, जनसेवा इङ्ग्लिस मिडियम विद्यालय द्वितीय तथा जानकी माध्यमिक विद्यालय तृतीय भएका छन् ।
त्यसैगरी वक्तृत्वकला प्रतियोगितामा माध्यमिक विद्यालय जोगागाउँकी छात्रा करुणा हरिजन प्रथम, शिवपुरी माध्यमिक विद्यालयका छात्र समिर खान द्वितीय, माध्यमिक विद्यालय बनजारेगाउँका छात्र राकेश कुमार पाल तृतीय भएका छन्। कन्या माध्यमिक विद्यालय की छात्रा जयन्ती धोबीले सान्त्वना पुरस्कार प्राप्त गरेकी छन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवले यस्ता प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास, सिर्जनशीलता र नेतृत्व क्षमताको विकास गराउनुका साथै भविष्यमा प्रविधिमैत्री समाजको नेतृत्व गर्न सक्ने जनशक्ति तयार गर्न सहयोग पुग्ने बताउनुभयो ।
योजना शाखा प्रमुख शोभा पौडेलले गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीलाई व्यवहारिक उपलब्धिसँग जोड्न यस्ता प्रतियोगिता प्रभावकारी हुने उल्लेख गर्दै आधुनिक शिक्षामा सूचना–प्रविधिको प्रयोग, अनुसन्धानमुखी सिकाइ र प्रस्तुतीकरण सीप अपरिहार्य बन्दै गएको बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै सामाजिक विकास समितिका संयोजक राम अचल धोबीले गुणस्तरीय शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै विद्यार्थीलाई प्रतिस्पर्धात्मक, सिर्जनशील र प्रविधिमैत्री बनाउने कार्यक्रमलाई गाउँपालिकाले आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शिक्षा अधिकृत झुमीकुमारी वलीका अनुसार प्रतियोगितामा पालिकाभित्रका सात माध्यमिक विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । यस्ता गतिविधिले विद्यालयबीच स्वस्थ शैक्षिक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यार्थीको ज्ञान, क्षमता, नेतृत्व र अभिव्यक्ति कलाको विकासमा सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सूचना प्रविधि अधिकृत विकास जिसीलगायत शिक्षक, शिक्षाकर्मी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले यस्ता प्रतियोगितालाई डिजिटल शिक्षा, नवप्रवर्तन र व्यवहारिक सिकाइसँग अझ प्रभावकारी रूपमा जोडेर नियमित सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।