काठमाडौँ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार एक वर्षमा नेपालमा ३७ हजार भन्दा बढी बिरामी थपिएका छन् । विश्व क्षयरोग दिवसको अवसर पारेर केन्द्रले एक कार्यक्रम गर्दै आर्थिक वर्ष २०७८-७९ मा ३७ हजार ८६१ जना क्षयरोगका बिरामी थपिएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
केन्द्रका नि.निर्देशक डा. नवीन प्रकाश शाहका अनुसार गत आर्थिक वर्षको तुलनामा यो वर्ष १० हजार बढी नयाँ बिरामी पत्ता लगाएको छ । डा. शाहका अनुसार केन्द्रले गत वर्ष २८ हजार भन्दा बढी बिरामी पत्ता लगाएको थियो ।
यो वर्ष पत्ता लागेका बिरामी मध्ये ६१.६ प्रतिशत पुरुष, ३८.४ प्रतिशत महिला र करिब ८.७ प्रतिशत १५ वर्ष मुनिका बालबालिकाहरू रहेको शाहले जानकारी दिनुभयो । बिरामी मध्ये ९१.५ प्रतिशत क्षयरोगका बिरामीको उपचार गराई निको बनाएको शाहको दाबी छ ।