बाँके । नेपालगंज उपमहानगरपालिका वडा नं. ५ को वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार अब्दुल अजीज हल्वाईले आफ्नो प्रतिबद्धता इदको पूर्व सन्ध्यमा सोमबार सार्वजनिक गर्ने तयारी गरेको बताएका छन् ।
हल्वाईले आफ्नो प्रतिबद्धता पत्रमा नेपालगंज ५ को सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गर्ने, प्राविधिक शिक्षामा जोड दिने उल्लेख गरेका छन् । त्यस्तै निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने प्रतिबद्धतामा समाबेश गरेको यूथ टुडेलाई जानकारी दिनु भयो ।
नेपालगंज ५ को स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवाहरू सुचारु गरिने र ७० वर्ष माथिका वृद्ध वृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण घरघरमै गरिने, सुत्केरीहरुलाई भत्ता, दृष्टिबिहिन, कान नसुन्ने र बोल्न नसक्नेहरुका निम्ति फोन कल तथा एस.एम.एस. डाटाको सुविधा निशुल्क रुपमा उपलब्ध गराउने योजना उनले अघि सारेका छन् ।
वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार हल्वाईले शिक्षा, सुशासन र पारदर्शीता, भौतिक पूर्वधार, कृषि र रोजगार, सामाजिक सुरक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन, खेलकुद, जनचेतना , धर्म र संस्कृतिका सवालमा केन्द्रीत भएर काम गर्नका लागि आफूले उम्मेदवारी घोषणा गरेकोले चुनाव चिन्ह लौरोमा मतदान गरी विजय गराउन अपिल गर्नु भयो ।