बाँके । बाँकेमा सरसफाईका साथै विभिन्न सामाजिक गतिविधि गरी विश्व शौचालय दिवस मनाइएको छ । यस वर्ष पनि नेपालसहित विश्वभर ‘शौचालय, शान्तिको लागि स्थान’ भन्ने मूल नारासहित विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पु¥याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो ।
बि ग्रुपको आयोजना र बैजनाथ गाँउपालिकाको सहकार्यमा विश्व चर्पी दिवस बैजनाथ – ८ टिटेहिरियामा मनाइएको छ ।
बैजनाथमा व्यवस्थित शौचालय नहुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको छ । नेपालका धेरै जिल्ला खुला दिसामुक्त घोषण भए पनि कार्यान्वय हुन नसक्दा समस्या बढदै गएको बि ग्रुपकि सहजकर्ता सविना चौधरीले बताउनु भयो ।
उहाँले भन्नुभयो, मानव जीवनशैली र सरसफाइका लागि शौचालय आधारभूत तत्त्व हो । निजीका साथसाथै सार्वजनिक शौचालय हुनु व्यवस्थित सहर र गाँउको उदाहरण पनि हो । सामान्यतया शौचालयलाई फोहोर ठाउँ भन्ने गरिन्छ । तर, शौचालय हामीलाई सफा र सुरक्षित राख्ने सहयोगी हो भनेर स्पष्ट पार्न जरुरी रहेको उहाँले धारणा राख्नु भएको थियो ।
स्थानीयहरु संगको अन्तरक्रियामा सहजकर्ता चौधरीले सफा शौचालयको सहि प्रयोग सभ्य समाजको अभिन्न अंग रहेकोले शौचालय प्रयोग गर्न तर्फ ध्यान दिन सुझाव दिनु भएको थियो ।
तीब्र शहरीकरण र बढ्दो जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढ्दो छ । बैजनाथ लगायत, अन्य पालिका तथा राजमार्गका व्यस्त चोकहरूमा भएका सार्वजनिक शौचालय पनि सरसफाइ एवं पूर्वाधारजन्य हिसाबले नाजुक अवस्थामा रहेकोले पनि फोहोरका कारण झाडापखाला लागेर हरेक बाँकेमा मानिसहरुको मृत्यु हुने गरे पनि सम्बन्धीत निकाय मौन भएर बस्ने गरेको स्थानीय महिलाहरुको गुनासो थियो ।
फोहोर पानी र दिसाजन्य फोहोरको प्रशोधनसहितको शौचालय सबैको पहुँचमा पु¥याउन सके मात्र खुला दिसामुक्त अभियानले सार्थकता पाउने स्वास्थ्यकर्मी लक्ष्मण शाहीले बताउनु भयो ।
संयुक्त राष्ट्र संघले सन् २०१३ देखि औपचारिक रुपमा १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको मनाउन थालेको हो । राष्ट्र संघको महासभामा सिंगापुरले यो प्रस्ताव पेश गरेको थियो । त्यसयता राष्ट्र संघको यूएन वाटर भन्ने निकायले यस दिवस मनाउने कार्यको संयोजन गर्दै आएको छ । त्यस अगाडि सिंगापुरमा अवस्थित विश्व शौचालय संस्था (वर्ल्ड ट्वाइ्लेट अर्गनाइजेशन) नाम एक गैरसरकारी संस्थाले सन २००१ देखि अनौपचारिक रुपमा विश्व शौचालय दिवस मनाउन थालेको थियो ।
अझै पनि संसारभरि लगभग अढाई करोड मान्छेहरूले शौचालय प्रयोग नगरेको तथ्याङ्क छ, करिब १० जना मध्य एक जना संसारको मान्छेले अझै पनि शौचालयमा शौच गर्ने विकल्प नपाएको विश्व स्वास्थ्य संगठनको सर्वेक्षणले देखाएको छ ।
नेपालमा विस्तारै घरघरमा शौचालयको दैनिक प्रयोगमा वृद्धि हुन थालेको भए पनि बढ्दो सहरीकरणको नमुना जिल्लाहरूमा नगर विस्तारका सोचहरूमा सार्वजनिक शौचालय निर्माण नहुनु चिन्ताका विषय बनेको अधिकारकर्मीहरुको भनाई छ ।