काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको स्वास्थ्य सुधारोन्मुख रहेको जनाइएको छ । बिहीबार पार्टीका सचेतक मीनबहादुर विश्वकर्माद्वारा जारी गिरिको घाँटीको क्यान्सरको उपचार गरिएको र सुधारोन्मुख गरेको जनाइएको हाे ।
नेता गिरि गत वर्ष साउनमा बिरामी भएपछि मुम्बई गएका थिए । नेता गिरिलाई हालै नेपाल ल्याइएको हो । उनको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार जारी छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रदीप गिरि विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालहरूमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात केही समय पहिले नेपाल आउनु भयो । उहाँलाई निमोनिया देखिएकोले नेपाल मेडिसिटी अस्पताल भर्ना भई उपचार भइरहेको छ । चिकित्सक एवं परिवार स्रोतका अनुसार उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।’
यस्तै, कांग्रेसका अर्का सांसद कर्मा घले पनि क्यान्सरबाट पीडित छन् । उनको पोस्टेट क्यान्सरको उपचार गरिएको थियो । हालै भारतको मुम्बईमा उपचार गरेर फर्किएका कर्माको मेडिसिटी अस्पतालमा केही दिन उपचार गरिएको थियो ।
हाल ललितपुरकै नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धीमा उनको उपचार जारी छ । कांग्रेस संसदीय दलले सांसदद्वय गिरि र कर्माको स्वास्थ्यलाभ कामना पनि गरेको छ ।