बाँके । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा बाँकेका विभिन्न मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागिता देखिँदै गर्दा। नेपालगञ्ज ६ हडिया बाबा मतदान केन्द्रमा देखिएको एक दृश्यले सबैको ध्यान तानेको छ ।
उक्त मतदान केन्द्रमा खटिएकी मतदान अधिकृत तथा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासकी अधिकृत अमृता केसीले ६ महिनाको शिशुलाई काखमै च्यापेर मतदान अधिकृतको जिम्मेवारी निर्वाह गरिरहनुभएको छ। मातृत्वको जिम्मेवारीसँगै राष्ट्रको महत्वपूर्ण लोकतान्त्रिक कर्तव्य पूरा गरिरहेको उहाँको समर्पणले मतदान केन्द्रमा उपस्थित कर्मचारी, सुरक्षा निकाय तथा मतदाताहरूलाई भावुक बनाएको छ ।
केसीका अनुसार शिशु सानो भए पनि राष्ट्रको महत्वपूर्ण कार्यमा सहभागी हुने अवसर गुमाउन मन लागेन ।
“देशको महत्वपूर्ण काममा सहभागी हुन पाउनु गर्वको विषय हो,” उहाँले भन्नुभयो, “बच्चा सानो भए पनि कर्तव्यबाट पछि हट्न मन लागेन। मातृत्वसँगै जिम्मेवारी पनि सँगसँगै निभाउन पाउँदा सन्तुष्टि लागेको छ।”
शिशुलाई कहिले काखमा त कहिले छेउमै राख्दै मतदाताको परिचय जाँच्ने, मतदान प्रक्रिया मिलाउने र कर्मचारीहरूलाई समन्वय गर्ने काममा केसी व्यस्त देखिनुहुन्थ्यो। उहाँका अनुसार जिम्मेवारी र मातृत्वलाई सँगसँगै व्यवस्थापन गर्नु चुनौतीपूर्ण भए पनि कर्तव्यप्रतिको प्रतिबद्धताले काम सहज बनाएको छ।
“शिशु सानो भएकाले केही चुनौती त हुन्छन्,” उहाँले भन्नुभयो, “तर सहकर्मीहरूको सहयोग र सबैको सकारात्मक प्रतिक्रियाले काम गर्न सहज भएको छ।”
मतदान केन्द्रमा आएका मतदाताहरूले पनि शिशुलाई काखमा राखेर जिम्मेवारी सम्हालिरहेकी केसीको प्रशंसा गरेका छन्। धेरैले यसलाई कर्तव्यनिष्ठा र समर्पणको उदाहरणका रूपमा लिएका छन् ।
स्थानीय मतदाताहरूका अनुसार निर्वाचन जस्तो संवेदनशील र जिम्मेवारीपूर्ण कार्यमा दिनभरि व्यस्त रहनुपर्ने अवस्थामा पनि शिशुलाई साथमै लिएर काम गरिरहेकी केसीको प्रतिबद्धताले लोकतन्त्रप्रतिको आस्था झल्काएको छ।
यसैबीच हडिया बाबा मतदान केन्द्रमा देखिएको अमृता केसीको मातृत्व र कर्तव्यबीचको सन्तुलनले निर्वाचनको औपचारिक वातावरणलाई मात्र होइन, लोकतन्त्रप्रतिको समर्पणको एउटा मार्मिक सन्देश पनि दिएको छ।
बाँके जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत विभिन्न मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। यो समाचार तयार गर्दा सम्म बाँकेमा ६३ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेक बहादुर शाहीले जानकारी दिनुभयो । सुरक्षा निकायको कडा व्यवस्थाबीच मतदाताहरू उत्साहका साथ मतदान सम्पन्न भएको छ ।