बाँके । सुशासन, प्रभावकारी सेवा प्रवाह र वर्तमान सरकारको कार्य–स्प्रिटलाई स्थानीय तहसम्म कार्यान्वयन गर्ने उद्देश्यले बाँकेको जानकी गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीका लागि विशेष क्षमता विकास तालिम सञ्चालन गरेको छ।
तालिममा क्षमता विकास, सुशासन, सेवा प्रवाह, लेखापरीक्षण बेरुजु, पञ्जीकरण, सकारात्मक सोच, सामाजिक जवाफदेहिता तथा सामूहिक निर्णय प्रक्रिया लगायतका विषयमा प्रशिक्षण दिइएको छ ।
गाउँपालिका तथा वडा कार्यालयबाट प्रवाह हुने सेवालाई अझ जनमैत्री, छिटोछरितो र पारदर्शी बनाउन तालिम आयोजना गरिएको सूचना प्रविधि अधिकृत विकास जिसीले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष छब्बन खाँले स्थानीय सरकारले आफ्ना नागरिकलाई प्रभावकारी र सहज रूपमा सेवा उपलब्ध गराउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
“नागरिकले सरकारी सेवा लिन अनावश्यक झन्झट भोग्न नपरोस् भन्ने उद्देश्यले सकारात्मक सोच, समूह गतिशीलता, सामूहिक निर्णय र जवाफदेहिताका विषयमा प्रशिक्षण दिइएको हो,” उहाँले भन्नुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले सुशासन र सेवा प्रवाहलाई प्रमुख प्राथमिकतामा राखेर तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले नेपालको संविधान, संघीय शासन प्रणाली, स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध, विश्व अभ्यास र नेपालको सन्दर्भमा समेत सहजीकरण गरिएको जानकारी दिनुभयो।
उहाँले वर्तमान सरकारको “स्प्रिट” अर्थात् कार्य–दिशा र सुशासनको सोचलाई स्थानीय तहले व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याउँदै नागरिकलाई सहज सेवा दिन कर्मचारीलाई निर्देशन दिनुभयो।
“सेवा प्रवाहमा अवरोध गर्ने वा ढिलासुस्ती गर्ने कर्मचारी कारबाहीको भागिदार बन्नुपर्ने हुन्छ,” उहाँले स्पष्ट गर्नुभयो।
तालिममा योजना तर्जुमा, बजेट प्राथमिकीकरण, कार्यान्वयन सीप, स्थानीय सरकारको अधिकार, कानून निर्माण प्रक्रिया, नेतृत्व विकास, नैतिकता, सदाचार र व्यक्तित्व विकास सम्बन्धी विषयमा पनि सहजीकरण गरिएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङ, प्रमुख प्रशासकीय अधिकृत उपाध्याय, वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारी, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि हरिकृष्ण महतरा लगायतले प्रशिक्षण दिनुभएको थियो।
वरिष्ठ लेखा अधिकृत अन्सारीका अनुसार तालिममा स्थानीय सरकारका पदाधिकारीको काम, कर्तव्य र अधिकार, न्यायिक समितिको न्याय सम्पादन, असल अभ्यास आदानप्रदान तथा स्वमूल्यांकन प्रणालीमार्फत गाउँपालिकाको कामलाई उत्कृष्टतामा रूपान्तरण गर्ने उपायहरू बारे जानकारी गराइएको थियो।
कार्यक्रममा गाउँपालिकाका ६ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिव तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
तालिमलाई स्थानीय तहमा सुशासनको सुदृढीकरण र वर्तमान सरकारको कार्य–स्प्रिट अनुसार जनमुखी सेवा प्रवाहको अभियानका रूपमा हेरिएको छ।