बाँके । स्थानीय सरकारले आज २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् ।
पालिकाले असार १० गतेभित्र सभामा नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार धेरैजसोले आज ल्याउन लागेका हुन् । केही पालिकाले यसअघि नै सार्वजनिक गरिसकेका छन् ।
अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।
केन्द्रले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याएका थिए । यसैको आधारमा स्थानीय सरकारले बजेट ल्याउने गर्दछन् ।
यस्तै बाँकेको डुडुवा गाउँपालिकामा जसपा र एमालेको कार्यपालिकामा बहुमत रहेकोले गाउँपालिका अध्यक्षले गरेको प्रस्ताव नमान्ने बताउदै गाउँ सभामा सहभागी नहुने बताउँदै आएको गाउँपालिका स्रोतले जनाएको छ ।
यस्तै नरैनापुर गाउँपालिकामा कांग्रेसको बहुमत रहेको छ भने कार्यपालिकामा जसपा अल्पमतमा परेकोले गाउँ सभा गर्न समस्या भएको हो । गाउँ सभा नगर्ने हो भने गाउँपालिकाको बिकास निर्माण देखि शिक्षा स्वास्थ्यमा ठुलो असर पर्ने जानकारहरु बताउँछन् । व्यक्तिगत लाभका लागि गाउँ सभा हुन नदिएर दुबै पालिकाका नागरिकलाई शिक्षा स्वास्थ्य र बिकास निर्माणबाट बन्चित गर्न खोजिएको गाउँपालिकाले जनाएको छ ।
गाउँ सभा हुन नदिए गाउँपालिका अध्यक्षहरुले जनप्रतिनिधिहरुको तलब भत्ता वितरणमा रोक लगाउने र कार्यपालिका सदस्यहरुले गरिरहेको बदमासी जनता सामु लिएर जाने तयारी गरेका छन् ।