बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले धुवाँमुक्त पालिका र स्वस्थ समाज निर्माणका लागि ग्यास सिलिन्डर र चुलो वितरण गरेको छ ।
नरैनापुर गाउँपालिकाले ९ हजार ५०० घरधुरीलाई ग्यास सिलिण्डर र चुलो वितरण गर्न लागेको जनाएको छ ।
पालिका वासीले यसअघि भान्सामा दाउरा प्रयोग गर्दै आएका थिए । दाउराबाट निस्केको धुवाँ र धुलोले मानव स्वास्थ्यमा असर गर्ने गरेको छ । धुवाँ र धुलोले श्वासप्रश्वास, दम र क्षयरोग लगायतका रोग लाग्ने गर्छ । भान्सामा काम गर्ने गृहिणीको स्वास्थ्यलाई मध्यनजर गरेर ग्यास बाँड्ने काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले युथ टुडे न्युजलाई जानकारी दिनु भयो ।
नरैनापुर गाउँपालिका भारतसँग सीमासमेत जोडिएको छ । मानव सूचकांकमा समेत यो गाउँपालिका कमजोर छ । यहाँ स्वास्थ्य, शिक्षा र अन्य पूर्वाधारको अवस्था पनि कमजोर रहेको छ ।
गाउँपालिक अध्यक्ष इस्तियाक अहमद शाहले चुनावको समयमा गरेको प्रतिबद्धता अनुसार आइतबार एक कार्यक्रमका बीच ग्यास सिलिण्डर र चुलो वितरण गर्नु भएको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले गृहिणीको स्वास्थ्य राम्रो बनाउन यो कार्यक्रमले सघाउने भन्दै पालिकामा रहेको ९ हजार ५०० घरधुरीलाई ग्यास सिलिन्डर र चुलो उपलब्ध गराउने बताउनुभयो । नौँ बुँदे सम्झौता गराएर ग्यास सिलिन्डर र चुलो बितरण गरिएको छ । वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष शाह, वडा अध्यक्ष मसुद अहमद शाह, लेखा अधिकृत प्रकाश अधिकारी लगायतको सहभागिता रहेको थियो ।