बाँके ५ पुस । जनता समाजवादी पार्टी (जसपा) का महासचिव तथा पूर्व मन्त्री मोहम्मद इश्तियाक राईले आफू जनताको सर्वोपरि हितमा निरन्तर लागिरहने दृढ संकल्प व्यक्त गर्नु भएको छ ।
बाँके क्षेत्र नं. ३ अन्तर्गत खजुरा गाउँपालिकाको उढरापुर चोकमा आयोजित नागरिकसँग प्रत्यक्ष संवाद कार्यक्रममा बोल्दै राईले निर्वाचनका बेला जनतासामु गरेका बाचा तथा योजनाहरू अहिले मूर्त रूप लिँदै गएको दाबी गर्नु भयो ।
उहाँले जनताको मतबाट निर्वाचित भएपछिका केही नेताहरू “दुलोभित्र लुकेर बस्ने” गरेको टिप्पणी गर्दै आफू भने जनतासँगै रहेको बताउनु भयो । राईले देशका ठूला नेताहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड), शेरबहादुर देउवा र माधवकुमार नेपालको निर्वाचन क्षेत्रभन्दा बाँके क्षेत्र नं. २ मा ५० गुणा बढी विकास भएको दाबी गर्नु भयो ।
उहाँले भन्नुभयो,“बारम्बार प्रधानमन्त्री बन्ने नेताहरूको निर्वाचन क्षेत्रभन्दा बाँके २ मा धेरै गुणा राम्रो विकास भएको छ, यो म दाबीका साथ भन्न सक्छु ।,”
प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा आफू जनताका कारण नभई ठूला विकासविरोधी राजनीतिक शक्तिहरूको मिलेमतो र प्राविधिक कारणले पराजित हुनुपरेको राईको भनाइ थियो ।
उहाँले भन्नुभयो,“अघिल्ला निर्वाचनभन्दा यसपटक जनताले मलाई बढी मत दिएका थिए, तर मलाई हराउन उनीहरूले आफ्नै उम्मेदवारको जमानत जफत गराउनसमेत भ्याए ।,”
राईले नेपाली काँग्रेसका केही नेताहरूले पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको निर्वाचन क्षेत्र भनेर फुइँ लगाउने गरे पनि आफूलाई हराउन सक्रिय भूमिका खेलेको आरोप लगाउनु भयो ।
राईले नेपालगन्ज–गुलरिया सडक खण्डको शिलान्यास आफूले नै गरेको स्मरण गराउँदै त्यसपछि कुनै नयाँ योजना शिलान्यास नभएको उल्लेख गर्नु भयो ।
“पहिले नेपालगन्जबाट गुलरिया पुग्न तीन घण्टा लाग्थ्यो, आज ३० मिनेटमै पुगिन्छ,” उहाँले भन्नुभयो, “मलाई ‘शिलान्यास र चुरण मन्त्री’ भनेर बदनाम गरियो, तर मैले शिलान्यास गरेका योजना निर्माण सम्पन्न भएका छन् वा निर्माणाधीन छन् ।”
भेरी अस्पतालको सन्दर्भमा बोल्दै राईले ३२५ करोड रुपैयाँ बजेट विनियोजन गराउन भूमिका खेलेको भए पनि त्यसपछि आएका मन्त्रीहरूले कार्यान्वयन नगरेको आरोप लगाए ।
“भेरी अस्पतालको खातामा २५ करोड रुपैयाँ जम्मा गराउन लगाएँ, तर त्यसपछि एक रुपैयाँ पनि आएन,” राईको भनाइ थियो ।
निर्वाचनका बेला रासायनिक मल कारखाना खोल्ने प्रतिबद्धता गर्ने नेताहरू अहिले कहाँ हराए ? भन्दै उहाँले प्रश्नसमेत उठाए । “भोट माग्दा कारखाना खोल्छु भन्नेहरू आज जनताबाटै लुकेर बसेका छन्,” राईले कटाक्ष गरे ।
कार्यक्रममा सहभागी स्थानीय नागरिकहरूले आगामी निर्वाचनमा विकास, प्रतिवद्धता र जनतासँग प्रत्यक्ष जोडिने नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।