काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै धनी हुन मान्छेले अपनाउने गलत ढंगले भ्रष्टाचार मौलाएको बताएका छन् । गलत ढंगले आर्जन गरेको सम्पत्तिले गलत परिणाम निकाल्ने भन्दै उनले आत्मसम्मानका साथ समाजमा बाँच्न जहिले पनि दिगो र पारदर्शी कामको बाटोमा अगाडि बढ्नुपर्ने बताएका छन् ।
बिहीबार नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्र र लोकतन्त्र परिवर्तनको प्रमुख वाहक हुनुको नाताले नेपालमा आर्थिक समृद्धिका क्रान्ति आवश्यक रहेको औल्याए ।
हामीसँग मानवीय जनशक्ति, प्राकृतिक स्रोत साधन हुँदाका बाबजुद पनि राजनीतिक समस्याका कारण मुलुकमा समस्या भएको औल्याएका छन् । राजनीतिक स्थायित्व र नेतृत्वको दृढ इच्छाशक्तिले मात्रै विकासलाई गति दिन सकिने उनको भनाइ थियो । अब गर्ने क्रान्ति भनेको आर्थिक रुपान्तरण र समृद्धिको क्रान्ति रहेको बताउंदै उनले केही मिसन, भिजन तयार रहेको बताए ।
नेपालमा जलविद्युतको ठूलो सम्भावना हुँदा पनि पानी खेर गइरहेको तर जति मात्रामा लाभान्वित हुनुपर्ने हो, त्यस किसिमको नेतृत्व र योजना अगाडि बढाउन नसकेको धारणा उनले राखेका छन् । पर्यटनको धेरै ठूलो सम्भावना भएपनि त्यसका लागि आवश्यक पूर्वाधार, नीति, योजना र कार्य जति प्रभावकारी हुनुपर्ने हो, त्यो नभएको प्रचण्डले औल्याएका छन् ।