बाँके। बाँके नरैनापुर क्षेत्रको विद्युत समस्याबारे जनप्रतिनिधिले रचनात्मक दबाब दिएपछि विद्युत विलिङ नियमित गर्दै महसुल तिर्न सहज गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । नरैनापुर वडा नम्बर ३ का वडा अध्यक्ष अजय मिश्रासहितको टोलीले नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रसँग विद्युत सेवा प्रवाहबारे चासो राख्दै संवाद गरेपछि सो प्रतिवद्धता आएको हो ।
नरैनापुर– ५ मटेहीयामा रहेको विद्युत नो लाइटमा दुई दिन मात्रै विद्युत महसुल बुझ्ने गरेका कारण ग्राहकले दु:ख झेल्दै आएका थिए । समयमै र नियमित विद्युत महशुल बुझाउन नसकिएको र एकमुष्ट जरिवाना असुली हुने गरेको लगायतका समस्या सार्वजनिक हुन थालेपछि अध्यक्ष मिश्राको टोलीले नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेलाई भेट गरेर आवश्यक ध्यानाकर्षण गराएको हो ।
भेटवार्तामा प्रमुख लामिछानेले विद्युत महसुल बुझाउने दिन बढाएर अब ६ दिन नै महसुल लिन सकिने बनाइने प्रतिवद्धता व्यक्त गरेका हुन् । विद्युत सेवा विस्तार गर्न, मिटर रिडिङ समयमै गर्न लगायतका माग र आवश्यकताबारे पनि जानकारी गराइएको अध्यक्ष मिश्राले जानकारी दिए । प्रमुख लामिछानेले कर्मचारीको अभाव परिपूर्ति गरेर तिहार लगत्तै विलिङ व्यवस्था सहज बनाई महसुल तिर्न सहज बनाइने विश्वास दिलाएको अध्यक्ष मिश्राको भनाई थियो ।