काठमाडौं । दशैतिहार नजिकिए सगै बजारमा यतिखेर मानिसको चहलपहल बढ्न थालेको छ । लगनखेल, न्यूरोड, असन बजार, बौद्ध, सुन्धारा लगायतको बजारमा दशैंको लागि सामान किन्नेको भिड लागेको छ ।
लामो समयदेखि कोरोनाले ठप्प रहेको व्यापार व्यवसायले पुन केही राहात पाएको छ । भिडभाड बढेसगै कोरोना संक्रमणको जोखिम पनि उत्तिकै बढ्ने देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गर्देै आएको छ । तर सरकारले गरेको आग्रहको वेवास्ता गर्देै मानिहरु भने भौतिक तथा सामाजिक दुरी कायम नगरी स्वास्थ्य सतर्कता समेत नअप्नाइ बजारमा किनमेल गरिरहेका छन् ।
अहिलेको अवस्थामा कोरोना संक्रमण फैलिन सक्ने र असाध्यै संवेदनशिल भएकोले सरकारले भिडभाड नगर्न अनुरोध गर्देै आईरहेको छ । अहिले सरकारले पसल तथा व्यवसाय संचालन गर्दा सामाजिक दुरी कायम गराउनुपर्ने, मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने तथा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने जनाएपनि बजार तथा पसलहरुमा उक्त मापदण्ड समेत पालना भएको छैन् ।
व्यक्ति व्यक्तिबीच भौतिक दूरी कायम हुन नसक्दा कोरोना भाइरसको जोखिम बढ्ने सम्भावना देखिएको छ । बिस्तारै देशैभर बजार क्षेत्र पुरानै अवस्थामा फर्किन थालेको छ । ठेलमठेल गरेर हिँड्न थालिएको छ । काठमाडौं उपत्यकालगायत देशभरका शहरी क्षेत्रमा कोरोना संक्रमण समुदायमा फैलन सक्ने भयसमेत बढेर गएको छ ।सरकारी कार्यालय, उद्योगधन्दा, ठूला तथा साना पसल, निर्माण क्षेत्र, बैंक तथा वित्तीय संस्थालगायत खोलिएको छ । हरेक दिनजसो दूरी नै कायम नभई आन्दोलनसमेत हुने गरेको छ ।
लकडाउन खुकुलो हुँदै गएपछि भौतिक दूरी कायमको कार्यान्वयनमा समस्या देखिएको छ । सरकारले पनि कडाइ गर्न सकेको छैन भने नागरिकस्तरबाट लापारवाही गर्न थालिएको छ। चाडबाड मनाउने नाममा बजारमा अव्यवस्थित भिड बढ्दा काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर भयावह हुन सक्ने सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन बताउँछन् । उनले भने ‘यो बेला सर्तकता अप्नाएर आफ्नो परिवार सँग रमाउँने बेला भएपनि बजारमा भिडभाड र स्वास्थ्य मापदण्ड पालना नगर्दा कोरोनाको जोखिम उच्च रहेको छ ।’ सर्बसाधारणको भिडभाड अस्वभाविक रुपले बढ्न थालेसँगै समुदाय स्तरमा कोरोना फेरी फैलिन सक्ने भएकोले सचेत रहन डा। पुन ले आग्रह गरेका छन् ।