मुख्य समाचार
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार | कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित | मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र पारित, ऐन निर्माणको तयारीमा सरकार |
मुख्य समाचार
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार | कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित | मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र पारित, ऐन निर्माणको तयारीमा सरकार |


वर्षौँको प्रतीक्षा चिर्दै नरैनापुरमा विकासको उज्यालो

यूथ टुडे समाचारदाता 3591+ समाचार ( )
१८ अशोज २०८३, आइतबार

बाँके । कुनै समय वर्षायाम सुरु हुनासाथ हिलाम्मे सडकका कारण जिल्ला सदरमुकाम नेपालगञ्जसँगको सम्पर्क टुट्ने, विद्युत् अभावमा स्वास्थ्य सेवा प्रभावित हुने र सञ्चार सुविधासमेत सहज रूपमा उपलब्ध नहुने बाँकेको नरैनापुर गाउँपालिकाको मुहार पछिल्ला वर्षमा फेरिँदै गएको छ। वर्षौंदेखि विकासको प्रतीक्षामा रहेका यहाँका बस्तीमा पक्की सडक, विद्युत्, सञ्चार, बैंकिङ तथा प्रशासनिक सेवा विस्तार भएसँगै स्थानीयवासीको जीवनशैलीमा परिवर्तन आउन थालेको छ।

नरैनापुर गाउँपालिका–१ महतिनियाका स्थानीय नजिर खाँ गाउँमा पक्की सडक र विद्युत् सेवा पुगेपछि निकै खुसी हुनुहुन्छ। वर्षौंदेखि निर्वाचनका बेला मात्रै पक्की सडक र बिजुलीको आश्वासन सुन्दै आएका उहाँका लागि गाउँमै सडक र विद्युत् सेवा उपलब्ध हुनु ठूलो परिवर्तन हो।

“सधैँ निर्वाचनका बेला पक्की सडक र बिजुलीको कुरा हुन्थ्यो। अलिअलि पोल पनि गाडिन्थे, तर निर्वाचन सकिएपछि ती विषयको चर्चा हराउँथ्यो। पोल मात्रै ठडिएका हुन्थे, बिजुली बल्दैनथ्यो”, खाँले विगत सम्झँदै भन्नुभयो, “गाउँमा यति सहज रूपमा पक्की सडक र बिजुली बत्ती आउला भन्ने सोचेको थिइनँ। कोरोना महामारीकै बीचमा सडक र बिजुली पुगेपछि हामी निकै खुसी भएका छौँ।”

गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको सक्रियताका कारण नरैनापुर दुर्गमबाट सुगमतर्फ अघि बढेको उहाँको भनाइ छ। सडक र विद्युत् विस्तारले आवागमन सहज बनाउनुका साथै शिक्षा, स्वास्थ्य, सञ्चार र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पारेको स्थानीयवासी बताउँछन्।

नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्वमा राप्ती नदीपारि भारतसँग सीमा जोडिएको नरैनापुर कुनै समय बाँके जिल्लाकै दुर्गम क्षेत्रका रूपमा परिचित थियो। तत्कालीन कटकुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गङ्गापुर गरी छ वटा गाविस मिलेर बनेको यस गाउँपालिकाको क्षेत्रफल १७२.३४ वर्ग किलोमिटर र जनसङ्ख्या ४३ हजार २०६ रहेको गाउँपालिकाको तथ्याङ्क छ। यहाँ मुख्यतः मुस्लिम र मधेसी समुदायको बसोबास छ। रोजगारीको खोजीमा अधिकांश युवा भारतका विभिन्न सहरमा जाने गरेका छन्।

वर्षायाममा हिलो र बाढीका कारण आवागमन कठिन हुने तथा हिउँदमा धुलाम्मे सडकले स्थानीयलाई सास्ती दिने अवस्था थियो। विद्युत्का पोल गाडिए पनि तार नतानिँदा बिजुलीको सुविधा थिएन। स्वास्थ्य संस्थामा भवन भए पनि विद्युत् र जनशक्तिको अभावमा प्रभावकारी सेवा सञ्चालन गर्न कठिन थियो। टेलिफोन टावर भए पनि नेटवर्कको समस्या थियो। तर सडक, विद्युत् र सञ्चार सेवाको विस्तारसँगै नरैनापुरको दैनिकी क्रमशः सहज बन्दै गएको छ।

महामारीको सङ्कटले खोल्यो विकासको ढोका

विसं २०७७ मा कोरोना महामारी फैलिँदा नरैनापुर एकाएक राष्ट्रिय चर्चामा आयो। गाउँपालिकामा ११८ जनामा कोरोना सङ्क्रमण पुष्टि हुनु र एक जनाको ज्यान जानुले स्वास्थ्य पूर्वाधारको कमजोर अवस्थालाई उजागर गरेको थियो। सङ्क्रमितको उपचार तथा व्यवस्थापनका लागि आवश्यक आइसोलेसन केन्द्र सञ्चालन गर्नसमेत विद्युत् अभाव बाधक बनेको थियो।

नरैनापुर–२ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक पूर्वाधार हुँदाहुँदै पनि विद्युत् नहुँदा आइसोलेसन केन्द्र सञ्चालनमा समस्या भएको गाउँपालिका अध्यक्ष शाहले बताउनुभयो। जेनेरेटरमार्फत सेवा सञ्चालन गर्ने प्रयाससमेत प्रभावकारी हुन नसकेपछि वर्षौंदेखि अलपत्र विद्युतीकरण आयोजनालाई तत्काल अघि बढाउन पहल गरिएको उहाँले स्मरण गर्नुभयो।

विद्युत् पुगेपछि स्वास्थ्य संस्थामा उपचार सेवा सञ्चालन गर्न, सञ्चारका साधन प्रयोग गर्न र दैनिक जीवनका काम सहज बनाउन सहयोग पुगेको छ। महामारीको कठिन परिस्थितिले विकास निर्माणका वर्षौंदेखि रोकिएका काम अघि बढाउन प्रेरित गरेको अध्यक्ष शाहको भनाइ छ।

दुई दशकको प्रतीक्षापछि सदरमुकामसँग सडक सञ्जाल

नरैनापुरको विकास यात्रामा नेपालगञ्ज–बघौडा सडक निर्माणलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। दशकौँदेखि चर्चामा रहे पनि विभिन्न कारणले निर्माण कार्य अघि बढ्न नसकेको करिब ४४ किलोमिटर लामो सडक कोरोना महामारीकै बीचमा निर्माण सम्पन्न भएको अध्यक्ष शाहले बताउनुभयो।

नेपालगञ्ज बसपार्कदेखि नरैनापुरको भारतीय सीमा क्षेत्र कटकुइँयाको सुइयासम्म सडक कालोपत्र गर्ने काम सम्पन्न भएपछि स्थानीयवासीलाई सदरमुकाम आवतजावत गर्न सहज भएको छ। राप्ती नदीको बगर तथा पुल निर्माणका केही काम भने बाँकी रहेका बेला सडक सञ्जाल विस्तारले नरैनापुर र राप्तीसोनारीका बासिन्दालाई प्रत्यक्ष लाभ पुगेको थियो।

सडक निर्माणपछि वर्षायाममा सदरमुकामसँगको सम्पर्क विच्छेद हुने समस्या कम भएको छ। बिरामीलाई अस्पताल पुर्‍याउन, कृषि उपज बजारसम्म लैजान, विद्यार्थीलाई विद्यालय आवतजावत गर्न तथा दैनिक उपभोग्य वस्तु गाउँसम्म ल्याउन सहज भएको छ। सडक र विद्युत् विस्तारले नरैनापुरलाई विकासको मूल प्रवाहसँग जोड्न आधार तयार गरेको अध्यक्ष शाहको भनाइ छ।

“सडक, विद्युत्, स्वास्थ्य, बैंकिङ, टेलिफोन र इन्टरनेट सेवा विस्तारसँगै नरैनापुरको अवस्था बदलिएको छ। अब यहाँका नागरिकलाई आफ्नै गाउँमा सहज सेवा उपलब्ध गराउँदै जीवनस्तर उकास्ने हाम्रो लक्ष्य छ”, अध्यक्ष शाहले भन्नुभयो।

गाउँमै सिंहदरबारको अनुभूति

भौतिक पूर्वाधार विस्तारसँगै नरैनापुर गाउँपालिकाले प्रशासनिक तथा सार्वजनिक सेवा प्रवाहलाई समेत गाउँमै उपलब्ध गराउने प्रयास अघि बढाएको छ। गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ। आन्तरिक राजस्व कार्यालयले प्रदान गर्दै आएको स्थायी लेखा नम्बर (प्यान) लगायतका सेवा पनि स्थानीय तहबाटै सुरु गरिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार स्थानीयवासीलाई सामान्य प्रशासनिक कामका लागि समेत नेपालगञ्ज धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यले सेवा विस्तारलाई प्राथमिकता दिइएको छ। नापी र मालपोत कार्यालयसमेत स्थानीयस्तरबाट सञ्चालन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो।

“स्थानीय जनतालाई सहज र सरल रूपमा सेवा दिन स्थानीय सरकार प्रतिबद्ध छ। जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला सबैको सहयोगले गाउँमै सिंहदरबारको अवधारणालाई कार्यान्वयन गर्दै लगेका छौँ”, वलीले भन्नुभयो।

उहाँका अनुसार प्रशासनिक भवनबाट नियमित सेवा सञ्चालन हुन थालेपछि नागरिकले एकै ठाउँबाट विभिन्न सेवा लिन सहज भएको छ। कार्यालय समयमै जनप्रतिनिधि र कर्मचारीको उपस्थितिले सेवाप्रवाहलाई प्रभावकारी बनाउन सहयोग पुगेको उहाँको भनाइ छ।

गरिबी न्यूनीकरण र रोजगारी सिर्जना चुनौती

सडक, विद्युत् र प्रशासनिक सेवामा सुधार भए पनि नरैनापुरका लागि गरिबी, बेरोजगारी, स्वास्थ्य र शिक्षाको गुणस्तर सुधार अझै प्रमुख चुनौतीका रूपमा रहेका छन्। राष्ट्रिय तथ्याङ्क कार्यालयको गरिबीसम्बन्धी अध्ययन प्रतिवेदनअनुसार बाँकेका स्थानीय तहमध्ये नरैनापुरमा गरिबीको दर ५० प्रतिशतभन्दा बढी रहेको उल्लेख छ।

गाउँपालिका अध्यक्ष शाहले भौतिक विकाससँगै नागरिकको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्न आवश्यक रहेको बताउनुभयो। गरिबीको दर घटाउन सीपमूलक तालिम, रोजगारी सिर्जना र आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।

“सडक र विद्युत् पुगेपछि मात्रै विकास पूर्ण हुँदैन। नागरिकको आर्थिक अवस्था सुधार्नु, रोजगारी सिर्जना गर्नु र शिक्षा तथा स्वास्थ्य सेवा गुणस्तरीय बनाउनु पनि उत्तिकै आवश्यक छ”, अध्यक्ष शाहले भन्नुभयो, “गरिबीको रेखामुनि रहेका परिवारलाई लक्षित गरी सीपमूलक तालिम र रोजगारीका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छौँ।”

गाउँपालिकाका लेखा अधिकृत प्रकाश अधिकारीले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइएको बताउनुभयो। स्थानीय उत्पादन वृद्धि, कृषिको आधुनिकीकरण र नागरिकको जीवनस्तर सुधार गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ।

नरैनापुरमा निर्माण गरिएको अस्पताल सञ्चालन, विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य जनशक्ति व्यवस्थापन र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने विषयलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ। स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध हुँदा बिरामीले उपचारका लागि नेपालगञ्ज र अन्य सहरसम्म जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

कुनै समय सामान्य सरकारी सेवा लिनसमेत सदरमुकाम धाउनुपर्ने, वर्षामा सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल पुर्‍याउन कठिन हुने र विद्युत् अभावमा दैनिक जीवन प्रभावित हुने नरैनापुर अहिले क्रमशः सेवा र सुविधाको पहुँच विस्तार गर्ने चरणमा पुगेको छ ।

कोरोना महामारीको कठिन समयमै अघि बढेका सडक र विद्युतीकरणका कामले नरैनापुरको विकास यात्रालाई नयाँ दिशा दिएका छन्। अब भौतिक पूर्वाधारबाट प्राप्त उपलब्धिलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक समृद्धिमा रूपान्तरण गर्नु यहाँको प्रमुख आवश्यकता बनेको छ। दुर्गमको पहिचानबाट बाहिर निस्कँदै गरेको नरैनापुरका लागि विकासको वास्तविक सफलता नागरिकको जीवनस्तरमा आउने दिगो परिवर्तनसँग जोडिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार