बाँके । ढकेरीमा रहेको छ, ढकेरी वनस्पति उद्यान । जहाँ ढकमक्क फूलेका अनेकथरीका फूलहरू रहेका छन् । स्वच्छ र सफा रमणीय वातावरण । जता हे¥र्यो उतै रमाइलो र मनमोहक दृश्य । त्यही ढकमक्क फूल र मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ । पूर्वपश्चिम राजमार्ग छेउमै रहेको ढकेरीस्थित वनस्पति उद्यान पछिल्लो समय सबैको रोजाइमा पर्न थालेको छ ।
राप्तीसोनारीको ढकेरी पार्क यतिबेला रंगीन फूलहरूले सजिएको छ। पार्कमा प्रवेश गर्नेबित्तिकै गुलाब, सयपत्री र मखमलीका विभिन्न रङहरूले जो–कसैको मन लोभ्याउने दृश्य देखिन्छ। वसन्त ऋतुको आगमनसँगै यहाँको वातावरण झन् मनमोहक बनेको छ
बिहानैदेखि साँझसम्म पार्कमा घुम्न आउनेहरूको भीड देखिन्छ। कोही परिवारसँग आएका छन्, कोही साथीहरूसँग रमाइरहेका छन् भने केही युवा–युवतीहरू मोबाइलमा फोटो र भिडियो कैद गर्न व्यस्त देखिन्छन्। हरेक कुनामा मुस्कान र उत्साह झल्किएको देखिन्छ। जसका कारण अहिले दैनिक एक हजार आन्तरिक तथा बाह्य पर्यटकहरू अवलोकन गर्नुका साथै घुम्न आउने गरेका छन् ।
‘यहाँ आउँदा मन निकै आनन्दित हुन्छ । फूलहरूले वातावरण नै बदलिदिएको छ ’पार्क घुम्न आएकी शान्ति सुनारले मुस्कुराउँदै भनिन्
पार्कको हरियाली सँगै रंगीन फूलहरूले मानिसहरूलाई केही समयका लागि भए पनि दैनिक व्यस्त जीवनबाट टाढा लैजाने काम गरेको छ। बालबालिकाहरू खेल्दै रमाइरहेका छन् भने वृद्धवृद्धाहरू शान्त वातावरणमा बस्दै दृश्य अवलोकन गरिरहेका भेटिन्छन्।
पार्क घुम्न आएकी प्रज्ञा सोनी आफ्ना साथीहरूसँगै उद्यान घुम्न पुगेकी थिइन् । सामाजिक सञ्जालबाटै जानकारी पाएकाले साथीहरूसँगै मिलेर घुम्न आएको उनले बताइन् । उनीसँगै पार्क पुगेकी सल्यान घर भइ हाल कोहलपुरमा बस्दै आएकी मुना सुनार पार्क निकै रमणीय भएको बताउँछिन् । उनका अनुसार सधैँ घरमा बस्दा समय बिताउन गाह्रो भएकाले रमाइलो गर्न ट्याक्सी चढेर उद्यानसम्म पुगेको उनले बताइन् । उनले समय मिले सबै जनालाई एक पटक उद्यानमा घुम्न आउन समेत आग्रह गरिन् ।
एकातिर उद्यानमा पर्यटकहरूको घुइँचो लाग्दा अर्कोतर्फ ई–रिक्सा र ट्याक्सी चालकहरूले समेत यात्रुहरू पाइरहेका छन् । कोहलपुरदेखि उद्यानसम्म र उद्यानदेखि कोहलपुरसम्म यात्रुहरूलाई पु¥याउँदा आम्दानी राम्रो भइरहेको ई–रिक्सा चालक रन्नबहादुर बस्नेत बताउँछन् ।
२०५६ सालमा स्थापना भएको वनस्पति उद्यानमा विगत केही वर्षयता ढकमक्क फूलहरूसँग रमाउन र घुम्न आउनेहरूको सङ्ख्या बढिरहेको ढकेरी वनस्पति उद्यानका प्रमुख दिनेश बरालले बताए । उद्यानमा विशेषगरी एउटा जडिबुटीको अध्ययन अनुसन्धान गर्न र अर्कोतर्फ मनोरञ्जन लिन आउने गरेको उनको भनाइ छ ।
उद्यानमा घुम्न र अनुसन्धान गर्न आउनेलाई लक्षित गरेर लोपोन्मुख बोटबिरुवाको संरक्षण र सौन्दर्यीयकरण गर्ने गरेको उनी बताउँछन् । उनका अनुसार समुद्री सतहबाट १ सय ६० मिटर उचाइमा रहेको उद्यान करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
उद्यानमा मुख्य गरेर लोपोन्मुख जडिबुटी संरक्षण, वनस्पतिको अध्ययन अनुसन्धान, वनस्पतिको शिक्षाको प्रचार र मनोरञ्जन स्थलको रूपमा प्रवद्र्धन गर्दै आइरहेको उनले जानकारी दिए । उनका अनुसार पछिल्लो समय उद्यानको प्रचारप्रसार हुँदा अध्ययन अनुसन्धन गर्न र घुम्न आउनेहरूको चहलपहल बाक्लो रहेको छ । विशेषगरी फागुन महिनादेखि फूलहरू फुल्ने समय रहेकाले आन्तरिक तथा बाह्य पर्यटहरू उद्यानमा पुग्ने गरेको उनी बताउँछन् ।
पछिल्लो समय उद्यानमा घुम्न आउनेहरूको भिड लाग्न थालेपछि प्रवेशका लागि टिकटको शुल्क निर्धारण गरिएको छ । १० वर्षमुनिकालाई १० रूपैयाँँ, १० वर्षमाथिकालाई २० रूपैयाँँ र ज्येष्ठ नागरिकहरूलाई ५ रूपैयाँँ प्रवेश शुल्क रहेको उनी बताउँछन् । तर, बढ्दो भीडसँगै केही चुनौतीहरू पनि देखिएका छन्। कतिपय स्थानमा फोहोर देखिनु र पार्किङको असुविधाले व्यवस्थापनतर्फ थप ध्यान दिनुपर्ने देखिन्छ। तर पनि , ढकेरी पार्क अहिले राप्तिसोनारीका लागि एउटा आकर्षक ठाउँ बनेको छ। फूलहरूको बहारसँगै यहाँ आउनेहरूको अनुहारमा देखिने खुशीले यस स्थानको महत्व अझ बढाएको छ।