काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणबारे छानबिन गर्न बन्ने संसदीय समिति बनाउने सहमति अनुमोदन गरेको छ । संसद भवनस्थित ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले सोमबार प्रमुख दलहरुबीच भएको सहमतिलाई अनुमोदन गरेको हो ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले अहिले केहीबेरमा बस्ने कार्यदल बैठकले शीर्ष तहमा भएको सहमति अनुसार कार्यादेशलाई अन्तिम रुप दिइने बताए ।
लेखकले भने, ‘हामीले जुन सहमति गरेका छौं, यसमा कसैको नाम वा पद लेखिहाल्ने भन्दा सहकारीको रकम जहाँ–जहाँ गएको छ, कानुनी गैरकानुनी रुपले गएको हेर्ने, त्यसमा संलग्न मानिस जो सुकै होस्, उसका बारेमा छलफल हुनसक्ने, छानबिन हुनसक्ने, अनुसन्धान हुन सक्ने स्थिति बनाएको हुनाले कुनै व्यक्ति विशेषको नाम लेखिराख्न आवश्यक छैन भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’
सोमबार साँझ बालुवाटारमा सत्ता पक्ष र कांग्रेसबिच संसदीय छानबिन समितिको कार्यादेशबारे सहमति जुटेको थियो । अब आज ७ सदस्यीय छानबिन समिति गठन हुनेछ र आजै ४ बजे बस्ने संसद बैठकले कार्यादेशसहित संसदीय समिति बनाउने नेता लेखकले बताए ।