बाँके । बाँके डुडुवा गाउँपालिकाको १७औँ गाउँसभा बसेको छ । आज शनिबार बसेको गाउँसभाले अर्धवार्षिक प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन गरेको छ । सभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले अर्धवार्षिक प्रगति र चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
पालिकाले बेतहनी स्वास्थ्य चौकीमा निमार्ण गरिएको नयाँ भवनबाट विशेषज्ञ स्वास्थ्य सेवा संचालन, हिरिमिनियामा निमार्णाधिन कोल्ड स्टोरको संचालन, वार्ड नं. २ स्थित विउ भण्डारण केन्द्रको संचालन गरिने अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले पालिकामा संचालित अन्य कार्यक्रमलाई थप प्रभावकारी बनाउदै निरन्तरता दिने बताउनुभयो ।
सभामा सेवा निबृत्त कर्मचारीहरु धनबहादुर बुढा, नरेश काँदु, शेरबहादुर केसी र जोगीसिंह सिख्खलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरि विदाई गरिएको थियो ।
सभामा उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ लगायताले योजना तथा कार्यक्रमका बारेमा बोल्नु भएको थियो । सदस्य सचिव प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार पाण्डेले संचालन गर्नुभएको थियो ।