बाँके । नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उपमेयर कमरुद्दिन राई यतिबेला बाँकेमा चर्चाको केन्द्रमा छन्। सरल स्वभाव, मिलनसार व्यवहार र निडर व्यक्तित्वका कारण उनी जन–जनको मनमा बस्न सफल भएका छन्। गरिमामय उपमेयर पदमा रहँदासमेत पदको घमण्डभन्दा जनताको सेवा उनको पहिलो प्राथमिकता रह्यो।
“सेवाग्राहीको पीर–मर्कामा कमरुद्दिन राई सधैँ तत्पर रहनुहुन्थ्यो, उहाँमाथि खोट लगाउने ठाउँ नै छैन,” नेपालगन्ज उपमहानगरमा भेटिएका एक सेवाग्राहीले भने।
गरिब, निमुखा र सीमान्तकृत समुदायको अधिकारका लागि निडर भएर उभिने राई समाजसेवामा गहिरो लगाव राख्ने नेता हुन्। १९ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय भए पनि पद र शक्तिप्रति उनले कहिल्यै मोह देखाएनन्। जनताको सेवामा निरन्तर खटिँदै आएका उनी अब आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं. २ बाट होमिएका छन्।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सचिवसमेत रहेका राई यसअघि बाँके जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। उनको नेतृत्वमा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पार्टीका उम्मेदवारले जित हासिल गरेका थिए भने २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि जसपाले सम्मानजनक सफलता पाएको थियो।
कमरुद्दिन राई नेपालगन्ज मात्र होइन, समग्र बाँके जिल्लामा परिचित नाम हुन्। “उहाँ युवाहरूको रोजाइमा पर्न सफल र भविष्यको सम्भावना बोकेका नेता हुनुहुन्छ,” नेपालगन्ज उपमहानगरपालिका–७ का एक मतदाताले बताए। जसपा भित्र उदाउँदो नेताका रूपमा चिनिएका राई नामका लागि होइन, कामका लागि चिनिने जनताको सेवकका रूपमा परिचित छन्।
झण्डै अढाई दशक लामो राजनीतिक संघर्षपछि संसद्को ढोका ढकढक्याइरहेका राईले बाँके क्षेत्र नं. २ को समग्र विकासका लागि उपमेयरको पद त्यागेर चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे। “बाँकेको विकास र जनताको अधिकारका लागि संसद् आवश्यक ठानेँ,” उनले भने।
उनको उम्मेदवारीलाई फरक विचार र अन्य दलमा आस्था राख्ने मतदाताहरूले समेत समर्थन जनाइरहेका छन्। मुस्लिम समुदाय मात्र होइन, बाँके जिल्लाभित्रका सबै समुदायको चेतना स्तर उकास्न सक्ने उम्मेदवारका रूपमा राईलाई हेरिएको छ। महिला, बालबालिका, युवा र शिक्षालाई उनले सधैँ प्राथमिकतामा राख्दै आएका छन्।
कोभिड–१९ महामारीले जनजीवन अस्तव्यस्त बनेको बेला दिनरात नभनी जनताको सेवामा खटिएका राई जनताको प्रिय बने। विपक्षीबाट अनेक प्रयास भए पनि जनताको चाहना, भरोसा र हिम्मतले नै आफूलाई यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने ऊर्जा दिएको राईको भनाइ छ।
पदभन्दा सेवा, भाषणभन्दा काम र राजनीति भन्दा मानवताको अभ्यास—कमरुद्दिन राईलाई बाँके–२ का मतदाताले यही परिचयका साथ हेर्न थालेका छन् ।