बाँके । बाँकेको खजुरामा गत १४ गते आइतबारदेखि संचालित १० दिने आधारभूत पत्रकारीता तालिम बिहीवार सम्पन्न भएको छ ।
इलुमिनेट नेपाल मिडिया सेन्टरको आयोजना, प्रेस सेन्टर नेपाल खजुरा शाखाको समन्वय र खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा १० दिने आधारभूत पत्रकारीता तालिम संचालनमा आएको थियो ।
समापन कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक (तुफान)ले खजुरा क्षेत्रबाट मिडियामा जोडिएका पत्रकारहरू अत्यन्तै कम भएका कारण नयाँ पत्रकार उत्पादन गरी खजुरा क्षेत्रको बिकासका लागि पत्रकारिता क्षेत्रबाट टेवा पुर्याउने उद्देश्यका साथ गाउँपालिकाको कार्य योजना अन्तर्गत तालिम संचालन गरिएको बताए ।
अध्यक्ष बिकले तालिममा भाग लिएका नयाँ प्रशिक्षार्थीहरुलाई शुभकामना दिदै भने, ‘संचार क्षेत्रमा नयाँ प्रबिधिको उच्चतम प्रयोग गर्दै यस क्षेत्रका सबै प्रकारका बिषयहरु उजागार गरेर बाहिर प्रचार प्रसार गरी यस क्षेत्र भित्रका पर्यटकिय स्थल, धार्मिक स्थल, बिकासे काम, लुकेर बसेका ऐतिहासिक परम्परागत स्थलहरु, कृषि, कला संस्कृति लगायतका बिषयलाई सूचनाको पहुँच पुर्याएर सर्वसाधारणसम्म समाचार पुर्याई पत्रकारिताका माध्यमबाट यो क्षेत्रलाई चिनाउन तपाइँहरुको ठुलो हात हुनेछ ।’
‘तपाईंहरुले तालिम लिनु भएको छ, लेख्दै जानुस काम गर्दै जानुस् । सिक्दै जानुस् । तपाईंहरुलाई अझै दक्ष बनाउन हामीले अन्य तालिम तथा कार्यक्रम पनि ल्याउनेछौ । समाजको ऐना बन्नुस तपाईहरु ।’ अध्यक्ष बिकले भने ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले आफू आज मात्रै पालिकामा आई कार्यभार सम्हालेको बताउदै आफ्नो पहिलो औपचारिक कार्यक्रम नै पत्रकारिता तालिम परेको भन्दै खुशी व्यक्त गरे । उनले पत्रकार भनेको समाजको ऐना भएको बताउदै समाजमा हुने सम्पुर्ण खालका समस्याहरुलाई उजागार गर्नुपर्ने बताए ।
‘पत्रकार भनेको समाजको ऐना हो, पत्रकारिताका माध्यमबाट समाजमा हुने देखिने सम्पुर्ण खालका समस्याहरुलाई तपाईंहरुले बाहिर ल्याउने हो । खबरदारी गर्ने हो । पालिकासङ्ग सहकार्य र हातेमालो गर्दै अगाडि बढ्नुस, हामी साथ दिन्छौं । पत्रकारिताका नाममा बेइमानी नगर्नुस् । सहि ढंगबाट तपाईहरुले आफ्नो कलम चलाउनुहोस ।’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाइ थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र खजुराका अध्यक्ष राजकुमार बिक, प्रेस सेन्टर नीति तथा परामर्श समिती सदस्य सुशील शर्मा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का लुम्बिनी प्रदेश अध्यक्ष गजेन्द्र गुरुङ, प्रेस सेन्टर नेपालका प्रदेश सचिब आलम खान, जिल्ला सचिब केपी घिमिरे, खजुरा प्रज्ञा प्रतिष्ठानका सदस्य मणि अर्यालले प्रशिक्षार्थी पत्रकारहरुलाई शुभकामना व्यक्त गरेका थिए ।
प्रशिक्षार्थी पत्रकारहरु निर्मला साउद, जुना रावत, दिपक कुवँर र फुलजहाँ खाँ ले पनि कार्यक्रममा आफ्ना अनुभव र सिकेका कुराहरुका बारेमा बोलेका थिए । उनिहरुले तालिम अत्यन्तै महत्वपूर्ण रहेको र आफुहरुले यो १० दिनमा धेरै कुराहरु सिकेको भन्दै प्रशिक्षक, समन्वयकर्ता, आयोजक र गाउँपालिकालाई धन्यवाद दिएका थिए ।
इलुमिनेट मिडिया सेन्टर नेपालका निर्देशक डक्ट प्रसाद धितालको अध्यक्षतामा सम्पन्न उक्त समापन कार्यक्रममा प्रेस सेन्टर बाँकेका उपाध्यक्ष सीता वलीले धन्यवाद ज्ञापन गरेकी थिइन् भने प्रेस सेन्टर खजुरा शाखाका सचिब पुरन परियारले कार्यक्रमको संचालन गरेका थिए ।