बाँके । जेन जेड आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका घटनाले जनमानसमा नकारात्मक प्रभाव पारेको भन्दै ‘नेपालगंजका युवा / जेन जेड बाँके’ ले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।
भदौ २३ र २४ गतेको आन्दोलन क्रममा भएको घटनामा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको ज्ञापनपत्रमा भ्रष्टाचार, बेथिति, विभेद र दमनविरुद्ध शान्तिपूर्ण आन्दोलनलाई तोडफोड, लुटपाट र आगजनीका नाममा बदनाम गर्ने प्रवृत्तिलाई रोक्न माग गरिएको छ।
ज्ञापनपत्रमा भनिएको छ, “जेन जेड आन्दोलन सामाजिक अन्याय र विभेदविरुद्धको शान्तिपूर्ण अभियान हो। तर कतिपय व्यक्तिहरूले तोडफोड र आगजनी गरेर आन्दोलनलाई अस्वाभाविक मोडमा धकेल्न खोजिरहेका छन्। प्रशासनले यसमा दोषीलाई पहिचान गरी कडा कारबाही गर्नुपर्छ।”
ज्ञापनपत्रमा भनिएको छ, “व्यक्तिगत मनोभावनामा ठेस पुर्याउने वा सामाजिक सद्भाव बिगार्ने कार्य तत्काल रोक्नुपर्छ। युवा पुस्ताले सदैव शान्तिपूर्ण ढंगले आफ्नो आवाज बुलन्द गर्दै आएको छ।”
युवाहरूले आगामी दिनमा पनि आन्दोलनलाई शान्तिपूर्ण ढंगले अघि बढाउने प्रतिबद्धता जनाउँदै प्रशासनलाई अविलम्ब कानूनी व्यवस्था अनुसार दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।