बाँके। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार दिपेन्द्र बिष्टले सुशासन, पारदर्शिता र प्रविधिमैत्री सेवामा केन्द्रित महत्त्वाकांक्षी प्रतिबद्धता सार्वजनिक गरेका छन्। आइतबार नेपालगन्जमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचारलाई शून्यमा झार्ने दृढ संकल्पसहित आधुनिक, पारदर्शी र उत्तरदायी शासन प्रणाली निर्माण गर्ने घोषणा गरेका हुन् ।
बिष्टले नेपालगन्जलाई सूचना प्रविधिमैत्री सेवा र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने दृष्टिकोण अघि सारे। सर्वसाधारणको दैनिकी सहज बनाउन सिफारिस, कर भुक्तानीलगायतका सबै सरकारी सेवा अनलाइनमार्फत उपलब्ध गराउने, सबै शुल्क डिजिटल प्रणालीबाट तिर्ने व्यवस्था लागू गर्ने तथा सेवाग्राहीले आफ्नै फाइलको अवस्था अनलाइनबाट ट्र्याक गर्न सक्ने प्रणाली स्थापना गर्ने योजना उनले सार्वजनिक गरे ।
युवालाई लक्षित गर्दै उत्पादनमा आधारित स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने, युवा उद्यमीलाई बिनाधितो सस्तो ब्याजदरमा स्टार्टअप कर्जा र कर छुटको व्यवस्था मिलाउने प्रतिबद्धता पनि उनले जनाएका छन्।
बाढी–डुबान समस्याको दीर्घकालीन समाधानका लागि राप्ती नदी मा वैज्ञानिक र दिगो तटबन्ध निर्माण, बगर क्षेत्रलाई व्यावसायिक तरकारी खेतीसँग जोड्ने तथा जोखिम व्यवस्थापनमा स्थानीय समुदायको निर्णायक सहभागिता सुनिश्चित गर्ने रणनीति उनले प्रस्तुत गरेका छन्। भूमिहीन सुकुम्बासी तथा भूमिसम्बन्धी समस्या समाधानका लागि नीतिगत पहल गरिने उल्लेख छ ।
पर्यटन तथा धार्मिक अर्थतन्त्र सुदृढीकरणका लागि लुम्बिनी विकास कोष र नेपाल सरकारसँग सहकार्य गर्दै लुम्बिनी–नेपालगन्ज पर्यटन सर्किटलाई सशक्त बनाउने योजना अघि सारिएको छ। कम्दी–बालापुर क्षेत्रमा रहेको प्राचीन गुम्बा तथा बृहतकालीन शहरको पुरातात्विक खोज–अनुसन्धानलाई प्राथमिकतामा राखिने जनाइएको छ ।
यसैगरी बागेश्वरी मन्दिर लाई ‘स्मार्ट बागेश्वरी’का रूपमा विकास गर्दै डिजिटल व्यवस्थापन प्रणाली स्थापना गरिने योजना पनि प्रतिबद्धतामा समेटिएको छ। राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना लाई सरकारको लक्ष्यभन्दा पाँच वर्ष अगावै, अबको दुई वर्षभित्र सम्पन्न गर्न पहल गरिने घोषणा गर्दै बिष्टले विकासलाई गति दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समग्रमा, बिष्टको प्रतिबद्धता पत्रले सुशासन, प्रविधि, रोजगारी, कृषि, पर्यटन र पूर्वाधारलाई एकीकृत ढंगले अघि बढाउने स्पष्ट खाका प्रस्तुत गरेको छ।