बाँके । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा उम्मेदवारहरूले मतदाता केन्द्रित भेटघाटलाई तीव्र बनाएका छन्। यसैक्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपेन्द्र बिष्ट ले आध्यात्मिक गुरु स्वामी विवेकानन्द सँग भेटघाट गर्नुभएको छ।
नेपालगञ्जमा भएको उक्त भेटका क्रममा उम्मेदवार बिष्टले क्षेत्रको शान्ति, सामाजिक सद्भाव, नैतिक राजनीति र समृद्ध भविष्यका विषयमा स्वामीजीसँग आशिष् तथा मार्गदर्शन लिनुभएको थियो । बहुधार्मिक र बहुसांस्कृतिक पहिचान बोकेको बाँके–२ मा सामाजिक एकता कायम राख्न आध्यात्मिक केन्द्र र धर्मगुरुहरूको भूमिका महत्वपूर्ण हुने बिष्टले उल्लेख गर्नुभयो ।
भेटका क्रममा स्वामी विवेकानन्दले राजनीतिमा युवाहरूको सक्रिय उपस्थितिलाई सकारात्मक संकेतका रूपमा लिँदै पद र शक्तिभन्दा माथि उठेर जनताको सेवामा समर्पित हुनुपर्ने सन्देश दिनुभयो ।
“नैतिकताविहीन राजनीतिले समाजलाई सही दिशा दिन सक्दैन,” भन्दै उहाँले उम्मेदवार बिष्टलाई इमानदार र जनमुखी प्रयासका लागि शुभकामना दिनुभयो ।
उम्मेदवार बिष्टले आफ्नो राजनीतिक ‘भिजन’ प्रस्तुत गर्दै भौतिक पूर्वाधार विकाससँगै जनताको मानसिक, नैतिक र आध्यात्मिक चेतनाको अभिवृद्धिलाई पनि प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“विकास केवल सडक र भवनले मात्र हुँदैन, चेतनशील समाज नै समृद्धिको आधार हो,” उहाँको भनाइ थियो ।
बाँके–२ मा यसपटक कडा चुनावी प्रतिस्पर्धा देखिएको छ। नेकपाका तर्फबाट युवा उम्मेदवारका रूपमा मैदानमा उत्रिनुभएका बिष्टले विभिन्न धार्मिक, सामाजिक तथा समुदायका अगुवाहरूसँग निरन्तर संवाद गर्दै आफ्नो पक्षमा जनमत सिर्जना गरिरहनुभएको छ ।
स्वामी विवेकानन्दसँगको यो भेटलाई चुनावी रणनीतिक दृष्टिले पनि अर्थपूर्ण मानिएको छ। स्थानीय विश्लेषकहरूका अनुसार यसले धार्मिक तथा आध्यात्मिक मतदातामाझ सकारात्मक सन्देश प्रवाह गर्न सक्ने सम्भावना रहेको छ ।
भेटघाटपछि संक्षिप्त प्रतिक्रिया दिँदै उम्मेदवार बिष्टले भन्नुभयो,“स्वामीजीको आशीर्वाद र मार्गदर्शनले मलाई जनताको सेवामा लाग्न थप ऊर्जा मिलेको छ। हामी बाँकेलाई विकासको नमुना मात्र होइन, शान्ति र सद्भावको केन्द्र पनि बनाउनेछौँ ।”