बाँके । बाँकेको जानकी गाँउपालिका–६ कपासीमा लोकेन्द्र बहादुर बुढा क्षेत्रीको घरमा लुटेराको एक समूहले बन्दुक देखाइ लाखौंको लुटपाट गरेको छ ।
स्थानीय लोकेन्द्र बहादुर बुढा घरमा सुतिरहेको अवस्थामा बिहीबार मध्यरात २ बजेको समयमा घरभित्र पसी ८÷१० जनाको समूहमा आएका हतियारधारी व्यक्तिले गरगहना लुटपाट गरी लगेको प्रहरीले जनाएको छ ।
हतियारधारी व्यक्तिहरुको आक्रमणमा परी घरधनी क्षेत्री घाईते भएको पवित्रा बुढा क्षेत्रीले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार लुटेराले उहाँको घरबाट सुनको सिक्रीसहित स्कुलमा जम्मा गर्नका लागि राखिएको रुपैयाँ लुटेर लगेको जानकारी दिनु भयो ।
घटना मध्यराती २ बजे भएपनि छिमेकीले ढिलो गरी थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले अहिले लुटेराको खोजी गरिरहेको जनाइएको छ ।
स्मरणरहोस बाँकेको जानकी गाँउपालिका वडा नं. ६ कपासी गाँउमा गत ३ महिनामा ३ पटक चोरी भए पनि प्रहरीले अहिले सम्म चोरहरुको पत्ता लगाउन नसकेको चोरहरुको कुटाईबाट घाईते भएका स्थानीय जहिर शेखले बताउनु भयो ।
यस्तै केही दिन अगाडि सोही पालिकाको इन्द्रपुर गाँउमा चोरहरुको एक समूह घरमा प्रबेश गरी लुटपाट गर्नुका साथै लुटेराहरुको समूहको आक्रमणमा परी एक जनाको मृत्यु भएको थियो भने ४ दिन पहिला नेपालगंज २१ बिर्ता गाँउमा एक जना यूवकको घाटी रेटी हत्या भए पनि प्रहरीले अहिले सम्म अभियुक्तहरुलाई पक्राउ गर्न नसक्दा स्थानीयहरुमा त्रास फैलिएको छ ।