जनकपुर । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताहरुले कानुनको धज्जी उडाउँदै अराजकता शैलीमा खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित प्रमुख राजेश्वर कुशवाहालाई कुटपिट गर्दै अर्धनग्न अवस्थामा नगर परिक्रमा गराएको घटनाको चौतर्फी निन्दा सुरु भएको छ ।
बिहीवार दिउंसो खानेपानीको काम अधुरै छोडेको कारण आवागमन समस्या भएको भन्दै जनमत पार्टीका नेता कार्यकर्ताहरुले रामानन्द चौक स्थित खानेपानीको कार्यालयमा प्रवेश गरी कुटपिट गर्दै लुगा समेत फुकालेर अर्धनग्न बनाई लाठी भरठा सहितको जुलुस गर्दै निमित प्रमुख कुशवाहालाई नगरको विभिन्न भागको परिक्रमा गराएका हुन ।
जनकपुरधाम उपमहानगरपालिका ८ बलवा टोलमा खानेपानी जडानका लागि महिनौदेखि सडक तोडफोड गरेको वर्षायाममा हिलो हुन जाँदा पार्टीका अध्यक्ष सिके राउतको घरसम्म जाने बाटोमा समस्या भएको कारण सिके राउतका कार्यकर्ताहरुले खानेपानीका प्रमुखलाई खबरदारी स्वरुप अर्धनग्न गरी नगर परिक्रमा गराइएको सिके राउतका कार्यकर्ताहरुले बताएका छन् ।
जनमत पार्टीका सचिव इन्द्रजीत यादवले भने जनकपुरधाम उपमहानगरपालिका र खानेपानी संस्थानको कारण बाटो हिलाम्य भई आवागमन समस्या भएको कारण खबरदारी स्वरुप रैली निकालिएको बताए । उनले भने भ्रष्टाचार गर्ने जुन पनि कार्यालयका प्रमुखलाई तह लगाउनेछौं । आज खबरदारी गरेका छौं यदि भ्रष्टाचारीहरु सर्तक भएन भने जन कारवाही गर्ने चेतावनी दिएका छन् ।
सुरक्षार्थ खटिएका प्रहरीको उपस्थितिमै जनमत पार्टीका कार्यकर्ताहरुले प्रमुख कुशवाहालाई नगर परिक्रमा गराएको हो । जुलुुस संगै रहेका प्रहरीले ती कार्यकर्ताहरुको भनाई अनुसार उनलाई बचाउनको सट्टा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयको जिम्मा लगाएका थिए ।
यता प्रहरी रहेपनि प्रमुख कुशवाहालाई किन बचाउन सकिएन भन्ने जिज्ञासामा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता जितेन्द्र बस्नेतलले अहिले मिटिंग छु भन्दै भन्न चाहेन ।
जुलुस सहित प्रमुख कुशवाहालाई अर्धनग्न गरी परिक्रमा गराउंदै जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयलाई बुझाएर त्यहाँबाट मुख्यमन्त्री लालबाबु राउत साइकल चोर प्रदेश छोड, मेयर लालकिशोर साह मुर्दाबाद लगायतका नारा लगाउंदै फर्केका थिए ।
बाटो ग्राभेलको मांग गर्दै दुई साताअघि जनमत पार्टीका नेता कार्यकर्ताहरुले जनकपुरधाम उपमहानगरपालिकामा तोडफोड समेत गरेका थिए । मेयर लालकिशोर साहलाई कालोमोसो दल्न पुगेका कार्यकर्ताहरु मेयर नभेटाएपछि उपमहानगरपालिकाको कार्यालयमा तोडफोड गरी फर्केका थिए । यसैबीच जुलुश प्रदर्शन पश्चात धनुषा प्रहरीले जनमत पार्टीका १० जना कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएका छन ।