बाँके । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान आजदेखि देशभर सुरु भएको छ। एक महिनासम्म चल्ने यो पवित्र महिनामा मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत नखाई निराहार व्रत बस्ने गर्छन्, जसलाई रोजा भनिन्छ। सामान्यतया बिहान करिब ४ बजेदेखि बेलुका ६ बजेसम्म रोजा बस्ने गरिन्छ भने सूर्य उदाउने र अस्ताउने समयअनुसार दैनिक समय तालिका परिवर्तन हुँदै जान्छ।
रोजा बस्नेहरूले बिहान ‘सेहरी’ तोकिएको समयअगावै भोजन ग्रहण गर्छन् र बेलुका सूर्यास्तपछि ‘इफ्तार’ गरेर व्रत खोल्ने परम्परा रहेको छ। इस्लामिक (हिजरी) पात्रोको नवौँ महिना रमजानलाई विशेष रूपमा पवित्र मानिन्छ, किनकि यही महिनामा मुस्लिमहरूको महान् धर्मग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ।
यो महिनालाई आत्मसंयम, त्याग, तपस्या र बलिदानको प्रतीकका रूपमा लिने गरिन्छ। दान, जकात, गरीब तथा दीनदुःखीको सेवा गर्नु रमजानको प्रमुख विशेषता हो। व्रतका बेला मुस्लिम समुदाय मस्जिदमा गई नमाज अदा गर्नुका साथै कुरानको पाठ गर्ने गर्छन्। एक महिनापछि व्रत समापनको अवसरमा इदुल फित्र भव्य रूपमा मनाइन्छ।
रमजान सुरु हुनु अघिल्लो साँझ चन्द्रमा अवलोकन गर्ने परम्परा पनि मुस्लिम समुदायमा विशेष मानिन्छ। चन्द्र दर्शनसँगै रमजान प्रारम्भ भएको घोषणा गरिन्छ र समुदायमा उल्लास छाउँछ।
यस पवित्र महिनामा नाबालक, बिरामी, दीर्घरोगी तथा गर्भवती महिलालाई रोजा बस्न अनिवार्य गरिएको छैन। वर्षभर भएका त्रुटिप्रति क्षमायाचना गर्दै अल्लाहप्रति कृतज्ञता व्यक्त गर्ने अवसरका रूपमा पनि रमजानलाई लिने गरिन्छ।
रमजानको अवसरमा नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले शुभकामना व्यक्त गर्दै धार्मिक सहिष्णुता, सद्भाव र आपसी सम्मानलाई अझ सुदृढ बनाउन आग्रह गर्नुभयो ।
यस्तै जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले सम्पूर्ण नेपाली मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूलाई संयम, शान्ति र समृद्धिको कामना व्यक्त गर्नुभयो ।
त्यसैगरी जामा मस्जिदका पूर्व अध्यक्ष हाजी अब्दुल रहमान मियाँले जारी गर्नुभएको शुभकामना सन्देशमा रमजान आत्मशुद्धि, अनुशासन र मानव सेवाको महिना भएको उल्लेख गर्दै सबैलाई सहकार्य र सद्भावको सन्देश दिनुभएको छ।
त्याग, तपस्या र आध्यात्मिक उन्नतिको मार्गमा अग्रसर गराउने यो पवित्र महिनाले समाजमा सद्भाव, सहिष्णुता र मानवतावादको सन्देश फैलाओस् भन्ने कामना सर्वत्र गरिएको छ ।