बाँके । कारागारलाई सामान्यतया अपराधीलाई सुधारेर समाजमा पुनःस्थापित गर्ने अन्तिम अवसरको केन्द्र मानिन्छ। तर बाँकेको नौवस्ता क्षेत्रीय कारागार भने दिनानुदिन सुधार गृह होइन, असुरक्षा, लागुऔषध र दादागिरीको अखडामा रुपान्तरण हुँदै गएको आरोप लागेको छ।
सुविधा सम्पन्न मानिने नौवस्ता कारागारभित्र अहिले ब्राउन सुगर, गाँजा, मदिरा, जुवातास र हिंसाको खुला कारोबार भइरहेको गम्भीर आरोप कैदी–बन्दीहरू स्वयंले लगाएका छन् । अझ चिन्ताको विषय त के भने, लागुऔषधको विरोध गर्ने कैदीहरू नै कुटपीट र दमनको शिकार बनिरहेका छन्।
गत शुक्रबार राति कारागारका चौकीदार रामबरण गुप्तामाथि आक्रमण भएको थियो । नाइके दीपक केसीको नेतृत्वमा रहेको समूहले कुटपीट गरेको बताइन्छ।
उक्त घटनामा गुप्तासहित केही कैदी घाइते भए। पीडितका अनुसार कुटपीटपछि उल्टै गुप्तासहित नौ जनालाई अर्को ब्लकमा थुनेर दुई दिनसम्म भोकै राखियो ।
गुप्ताकी धर्मपत्नी पुनम गुप्ताले कारागार प्रमुख जालन्धर भुषालकै आडमा केसीले लागुऔषध भित्र्याउने र कारोबार गर्ने गरेको दाबी गरिन् । कागजमा चौकीदार गुप्तालाई तोकिए पनि व्यवहारमा चौकीदारको सबै अधिकार नाइके केसीलाई दिइएको स्वयं कारागार प्रमुखले स्वीकार्दै आएको उनको भनाइ छ।
तर कारागार प्रमुख भुषाल भने आपसी विवादलाई अतिरञ्जित बनाइएको दाबी गर्छन्। उनका अनुसार कुटपीट सामान्य झडप मात्र हो र अवस्था साम्य भइसकेको छ ।
घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै आइतबार गुप्ताका परिवारजनले बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई भेटेका थिए । उनीहरूले गुप्तालाई पुनः चौकीदारकै भूमिकामा फर्काउन र नाइके केसीलाई अन्यत्र सरुवा गरी सुरक्षित वातावरण सिर्जना गर्न माग गरेका छन्।
प्रमुख जिल्ला अधिकारी तामाङको निर्देशनपछि सोमबार सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्री नेतृत्वको टोली कारागारमा खटिएको छ । टोलीले सरोकारवालासँग भेटघाट गर्दै घटनाको छानबिन गरिरहेको छ।
कारागारभित्र कैदी अगुवाकै संलग्नतामा लागुऔषध कारोबार हुनु र प्रशासन मुकदर्शक बन्नु झनै शंकास्पद र भयावह अवस्था हो । स्रोतका अनुसार औषधि र तरकारीका पोकामार्फत लागुऔषध सजिलै भित्र्याइन्छ।
बाहिर दुई सय रुपैयाँ पर्ने ब्राउन सुगरको एक प्याकेट कारागारभित्र एक हजार रुपैयाँसम्म पर्ने, गाँजा मिसिएको एक खिल्ली चुरोट पाँच सय, एक पाउ मदिरा एक हजार रुपैयाँमा बिक्री हुने गरेको दाबी गरिएको छ । लागुऔषध भित्र्याउने समूहले जेलर र प्रहरी इञ्चार्जलाई मासिक मोटो रकम बुझाउने गरेको आरोप समेत लागेको छ ।
लागुऔषधको खुलेआम प्रयोग र कारोबारले नशामा नलागेका कैदीहरूलाई झनै असुरक्षित बनाएको छ । डर, त्रास र हिंसाबीच बस्न बाध्य कैदीहरू प्रभावकारी खानतलासी, कडा निगरानी र निष्पक्ष छानबिनको माग गरिरहेका छन् ।
कारागार प्रशासनका अनुसार हाल नौवस्ता कारागारमा ६ सय ३५ कैदीबन्दी रहेका छन् । नौ बिघा क्षेत्रफलमा फैलिएको यो कारागारको क्षमता तीन हजार भए पनि, सुरक्षा र सुशासनको अवस्था भने गम्भीर प्रश्नको घेरामा परेको छ ।
जेलर सहित दिपक केसि र उस्को समूह लइ कर्यवही गरि अन्तै सरुवा गरि नौवस्ता कारागार लइ पुर्न सुरछित बतावरण बनाउने