नरैनापुरमा सामुदायिक स्वास्थ्य कार्यक्रम लागु
८ श्रावण २०८२, बुधवार
बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले सामुदायिक स्वास्थ्य तथा घरदैलो कार्यक्रम सुरु गर्ने भएको छ । नागरिकको स्वास्थ्यलाई सबल बनाउन र नसर्ने रोगबाट बचाउनका लागि कार्यक्रम सुरु गर्न लागिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “नसर्ने रोगबाट सजिलै बच्न सकिने उपायहरू छन् तर समयमा नै जानकारी नहुँदा नागरिकले अकालमा ज्यान समेत गुमाउनु परेको छ ।”
गाउँपालिका अध्यक्ष स्वास्थ्य कार्यक्रम अन्तर्गत नरैनापुरको ६ वटै वडामा स्वास्थ्य सम्बन्धी कार्यक्रम हुने स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले जानकारी दिनु भयो ।
गाउँपालिकाको ६ वटै वडामा सञ्चालन हुने यो कार्यक्रममा अनमी, स्टाफ नर्स र अहेव गरी १२ जना परिचालन गरिने पालिकाले जनाएको छ । गाउँपालिकाको चौतर्फी विकासको लागि सक्षम नागरिक आवश्यक पर्ने उल्लेख गर्दै सक्षमताको लागि स्वास्थ्य पहिलो आवश्यकता रहेकोले स्वास्थ्य सबलताको लागि पालिकाले पहलकदमी चालेको गाउँपालिका अध्यक्ष शाहको भनाइ छ ।
घरदैलो कार्यक्रमले नेपालमा नराम्रो प्रभाव पारेको नसर्ने रोगको प्रतिकुल प्रभाव र न्यूनीकरणको लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नागरिकको स्वास्थ्यलाई सबल राख्न गाउँपालिकाले चालेको कदम अर्थपूर्ण रहेको बताउदै जनस्वास्थ्य अधिकृत करम चौधरीले भन्नुभयो, "पालिकाको सम्पूर्ण वडामा खटिने स्वास्थ्कर्मीहरुले नागरिकको स्वास्थ्य सम्बन्धी पूर्ण तथ्याङ्क सङ्कलन, स्वास्थ्य अवस्था लगायतका विवरण सङ्कलन गर्दै सचेतना फैलाउने काम गर्ने छन् ।" नरैनापुर मधेशी र मुस्लिम बाहुल्य क्षेत्र भएकोले उक्त अभियानलाई सफल बनाउन चुनौती भए पनि कामलाई निरन्तरता दिन सके अभियान सफल हुने स्वास्थ्य चौकी कटकुइयाका इन्चार्ज दिनेश मौर्यले बताउनु भयो ।
घरदैलो कार्यक्रममा खटिने स्वास्थ्यकर्मीहरुले नागरिकलाई मुटुरोग, मनोरोग, पाठेघरको क्यान्सर, स्तन क्यान्सर, ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका र किशोर किशोरी लगायतलाई प्राथमिकतामा राखेर तथा उनीहरूलाई स्वस्थ जीवनशैलीको आचरण अवलम्बन गर्न सचेतना फैलाउने प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जानकारी दिनु भयो ।
नागरिकको स्वास्थ्य अवस्था समेटिएको स्वास्थ्य प्रोफाइल तयार हुनेछ र सोही अनुसार स्वास्थ्य सेवा प्रवाहको काम हुने स्वास्थ्य संयोजक शाहले बताउनु भयो । उहाँले भन्नुभयो, नरैनापुरमा १५ शैयाको अस्पताल संचालनमा आउन लागेकोले उक्त अभियान मार्फत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा लिन सहज हुने उल्लेख गर्नु भयो । 