बाँके । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा बाँके निर्वाचन क्षेत्र नम्बर २ फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा आएको छ। २० जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्, तर सडक, टोल र चोकमा चुनावी उत्साह भने अपेक्षाकृत शान्त देखिन्छ । घरदैलो, माइकिङ, पर्चा वितरण र भेटघाट तीव्र भए पनि मतदाताको मन अझै निर्णायक मोडमा पुगेको छैन ।
कोही उम्मेदवार एक्लै माइक बोकेर मत माग्दै हिँडिरहेका छन्, त कोही दलबलसहित सडकमा उत्रिएका छन्। नेपालगञ्ज बजार र डुडुवा गाउँपालिका समेटिएको यो क्षेत्र ऐतिहासिक रूपमा ‘फेरिएको निर्णय’का लागि चिनिन्छ । यहाँ एउटै उम्मेदवार लगातार दोहोरिन नसकेको विगतले यसपटकको चुनावलाई झनै रोचक बनाएको छ।
यो क्षेत्रले कहिले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालालाई जितायो, कहिले राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालाई, त कहिले फोरमका मोहम्मद इस्तियाक राईलाई।
वि.सं. २०६४ मा सुशील कोइरालाजस्तो स्थापित नेताको अप्रत्याशित पराजयले बाँके २ लाई ‘राजनीतिक सरप्राइज’को क्षेत्रका रूपमा चिनायो ।
वि.सं. २०७९ मा एमाले गठबन्धनसहित राप्रपाका डा. धवलशमशेर राणाले २९ हजार ५७८ मत ल्याएर जित हात पारे । त्यसअघि २०७४ मा संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राई विजयी भएका थिए । यी परिणामहरूले एउटै सन्देश दिन्छन् यहाँ मतदाता स्थिर छैन, निर्णय क्षणमै बदलिन सक्छ ।
यसपटक एमालेबाट मोहम्मद इस्तियाक राई, कांग्रेसबाट सुधांशु कोइराला,नेपाली कम्युनिस्ट पार्टीबाट सबैभन्दा कान्छा उम्मेदवार दिपेन्द्र बिष्ट, राप्रपाबाट ऋषिराज देवकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विवेक श्रेष्ठसहित २० जना उम्मेदवार मैदानमा छन् ।
डुडुवा गाउँपालिका–१ चौफेरिका रामदिन यादव भन्नुहुन्छ,
“२०७९ भन्दा यो निर्वाचन झनै प्रतिस्पर्धात्मक देखिन्छ । एक जना पूर्वमन्त्रीका लागि नेकपाका दिपेन्द्र बिष्ट र कांग्रेसका सुधांशु कोइराला कडा चुनौती बनेका छन् ।”
कांग्रेस स्व. सुशील कोइरालाको राजनीतिक विरासत जोगाउने प्रयासमा छ भने अघिल्लो निर्वाचनमा विजयी राप्रपाले यसलाई प्रतिष्ठाको विषय बनाएको छ। तीन पटक मन्त्री भइसकेका मोहम्मद इस्तियाक राई आफूले गरेका विकासका कामलाई आधार बनाएर पुनः जनमत मागिरहेका छन्।
तर यसपटक चुनावी मैदानमा नयाँ तर तीव्र उपस्थिती देखिएको छ, ‘तारा’ चिन्ह । जेन–जी पुस्ताको प्रतिनिधित्व गर्ने सबैभन्दा कान्छा उम्मेदवार दिपेन्द्र बिष्ट आक्रामक रूपमा अघि बढिरहेका छन् । सामाजिक सञ्जालदेखि टोल–टोलसम्म उनको चर्चा बढ्दो छ। सामाजिक सञ्जाल प्रयोगकर्ता पूजा केडेल भन्छिन्,“दिपेन्द्र बिष्ट जेन–जी पुस्ताको आवाज हुन् । उहाँले सयौँ युवालाई रोजगारी दिनुभएको छ। उहाँ निर्वाचित भए जेन–जी बेरोजगार हुनुपर्दैन ।”
नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं २० मा मत माग्न पुगेका बिष्टलाई मतदाताले एउटै प्रश्न दोहोर्याए— ‘चिल्लो भाषण होइन, सफा खानेपानी चाहियो।’
आधारभूत आवश्यकताबाट वञ्चित भएको पीडाले बिष्ट भावुक बने । “जिते पनि नजिते पनि खानेपानीको समस्या समाधान गर्छु,” भन्दै उनले प्रतिबद्धता जनाए। उहाँले भन्नुभयो,“गाउँ/गाउँमा सिंहदरबार आए पनि जनताको आधारभूत आवश्यकता पूरा हुन नसक्नु स्थानीय तहको कमजोरी हो ।,”
शिक्षा, स्वास्थ्य, कृषि, सिचाइ, खानेपानी, पर्यटन, वातावरण, तटबन्ध, सामाजिक न्याय जस्ता मुद्दा चर्चामा भए पनि नयाँ र पुराना शक्तिबीचको प्रतिस्पर्धा नै चुनावको मुख्य कथा बनेको छ। पहाडी, मधेसी र मुस्लिम समुदायको मिश्रित बसोबास रहेको यस क्षेत्रमा ९७ हजार ८०९ मतदाता छन्, तर मत कसको पक्षमा जान्छ भन्ने अझै खुलिसकेको छैन।
माओवादी जनयुद्ध र मधेश आन्दोलनको प्रभाव बोकेको बाँके २ फेरि एकपटक इतिहास दोहोर्याउने कि नयाँ अध्याय लेख्ने यसको फैसला फागुन २१ ले गर्नेछ।