बाँके । इलाका प्रहरी कार्यालय भगवानपुरको नवनिर्मित भवन उद्घाटन गरिएको छ । सोमबार लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्ष उमेश राज जोशी र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तिायक अहमद शाहले संयुक्त रुपमा नरैनापुरको वडा नं. ५ को भगवानपुरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको उद्घाटन गर्नु भयो । साथै उहाँहरुले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नु भएको थियो ।
भवन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायब महानिरीक्षक जोशीले प्रहरी संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रदेश प्रहरी कार्यालय सदैव कटिवद्ध र प्रयासरत रहेको जिकिर गर्नु भयो ।
प्रहरी नायब महानिरीक्षक जोशीले आधुनिक भवनहरूसँगै प्रहरीको सेवाप्रतिको इमान्दारिता, जिम्मेवारीबोध, प्रहरी आचरण र व्यवहारले प्रहरी प्रतिको जनविश्वास अभिवृद्धि गर्ने विश्वास लिएको बताउनु भयो । उहाँले भवनहरू सबैको साझा सम्पत्ति रहेको उल्लेख गर्दै नवनिर्मित भवनहरूप्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्द्धन गर्दै दीर्घकालसम्म जर्गेनाका लागि सहयोग गर्न सबैसँग आग्रह गर्नु भएको थियो । नेपालको मात्र नभई भारतीय नागरिकको लागि आकर्षणको केन्द्र रहेको देश कै उत्कृष्ट पालिका नरैनापुरमा हुन सक्ने अपराध रोक्नको लागि नागरिक र प्रहरीबीचको समन्वय र सहकार्य महत्वपूर्ण रहने भन्दै सचेत रहनु पर्नेमा प्रहरी नायब महानिरिक्षक जोशीले जोड दिनु भएको थियो ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक जोशीले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरूलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पु¥याउने प्रहरी कर्मचारीलाई पुरस्कारसमेत प्रदान गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले इलाका प्रहरी कार्यालय नरैनापुर अन्य प्रहरी कार्यालयभन्दा निक्कै महत्वपूर्ण र विशिष्ट नाका भएको बताउनु भयो । नेपाल भारत सीमावर्तीक्षेत्रमा हुने चोरी, तस्करी, रोकथाम नियन्त्रण गर्नु, शान्ति सुरक्षा अमन चयन कायम गर्नु, अपराध नियन्त्रण र अनुसन्धान गर्नु, समाजमा शान्ति व्यवस्था कायम गर्नु इलाका प्रहरी कार्यालय भगवानपुरको मुख्यः दायित्व र जिम्मेवारी रहेको अध्यक्ष शाहले स्पष्ट पार्नु भयो ।
अहिलेको मुख्यः समस्या लागूऔषध भएको स्पष्ट पार्दै उहाँले अवैधरुपमा भित्रिने अन्य वस्तुले देशको अर्थतन्त्र र राजस्वमा असर पुर्याउने तर, लागूऔषले समाज देश नै ध्वाँस पार्ने अध्यक्ष शाहको भनाई थियो । जनताको जीउधनको सुरक्षाको जिम्मेवारी लिएर बसेको एउटा प्रहरी असुरक्षित भयो भने संयौं नागरिकले सुरक्षा पाउन नसक्ने भन्दैं हरेक नागरिकले सुरक्षितरुपमा जीवनयापन गर्नका लागि प्रहरी सुरक्षित हुनुपर्ने उहाँको भनाई थियो । प्रहरी असुरक्षित भयो भने सर्वसाधारणले सुरक्षा पाउनु भनेर आश गर्नु दिवा स्वप्ना हुने अध्यक्ष शाहको तर्क थियो ।