काठमाडौं । प्रतिनिधि सभा सदस्य उर्मिला माझीले श्वेता फाउन्डेसनले समाजसेवाको नाममा गरिएको व्यवहारले सिन्धुपाल्चोकका ५५ घर माझी बस्तीका समुदाय विस्थापित हुन लागेकाे बताएकी छिन् ।
संसदकाे आइतबारकाे बैठकमा शुन्य समयमा बाेल्दै माओवादी केन्द्रकी सांसद माझीले फाउन्डेसनले भुकम्प पीडितलाई घर बनाइदिने आश्वासन दिएकाे तर पीडितकै घर धिताे राखेर प्रति परिवार ४ लाखकाे दरले लक्ष्मी बैंकबाट ऋण लिएको तर अहिले साे ऋण र व्याज समेत तिर्न नसकेपछि माझी समुदाय विस्थापित हुन बाध्य हुनुपरेकाे बताइन् ।
उनलेे भनिन्-
सभामुख महाेदय,
सिन्धुपाल्चोक जिल्लाकाे चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नं ११ मा रहेकाे माझी समुदायको सिंगै गाउँ आज लिलाम हुने अवस्था सिर्जना भएको छ । २०७२ साल बैसाख १२ गते आएको भुकम्पले घरहरू भत्किएपछि बिचल्लीमा परेका माझी समुदायका ५३ परिवारकाे घर बनाउन पुगेकी अभिनेत्री श्वेता खड्काकाे फाउन्डेसनले पीडितहरूकाे नाममा लक्ष्मी बैंकबाट लिएको प्रति परिवार ४ लाखका दरले लिएकाे ऋणले अहिले सबै माझी परिवारकाे भागाभाग भएको छ ।
माझी परिवारलाई राज्यले दिएको ३ लाख र बैंकबाट लिएको ४ लाखमा घर निर्माण भएको र श्वेता फाउन्डेसनले जस्ता मात्रै उपलब्ध गराएकाे देखिन्छ । तर श्वेता खड्काकाे नाम दानबीरकाे रूपमा प्रचार भइरहेको छ । तर माझीहरू बस्ने घर नै धिताे राखेर निकालेको ऋण तिर्न नसक्दा काेही भारत तिर, काेही काठमाडौंतिर, काेही अन्य शहरतिर गएर लुकेर बसेका छन् भनेर समाचार आइरहेको छ ।
सभामुख ज्यु,
माझी समुदाय राज्यबाट निरन्तर उत्पिडनमा परेकाे र पारिएको सिमान्तकृत अल्पसंख्यक समुदाय हाे । जाे साेझाे उसैकाे मुखमा घाेचाे भनेझैं माझी समुदायमा दाजुभाइ दिदिबहिनीमाथि भएको याे व्यवहार अत्यन्तै निन्दनीय छ । यस विषयमा त्यहाँको स्थानिय पालिका मेयर, स्थानीय वासी र माझी समुदायसँग यथार्थ बुझी छानवीन गर्न तथा अन्यायमा परेका माझी समुदायमाथी उचित न्याय गर्न र समस्या समाधानको लागि म सभामुख मार्फत नेपाल सरकारकाे गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।