बाँके । नेपालगंज उद्योग वाणिज्य संघको चुनाव मतगणनाको चरणमा छ । सबैको ध्यान यतिबेला कसले जित्ने र कसले कति मत ल्याउने भन्नेमा छ ।

परिणाम कुरिरहेका सर्वसाधारण र उम्मेदवारले प्रयोग गरेका पानीका बोतल, गुट्खाका खोल र सिलबन्दी खानेकुराका खोलले मतगणनास्थल भरिभराउ छन् । आफ्नै कार्यकर्ताले गरेको त्यो फोहर सफा गर्नेतर्फ दलहरुको ध्यान पुगेको छैन ।
तर, क्लिन नेपालगंज ग्रिन नेपालगंजका परिकल्पनाकार डाक्टर बिनोद कर्ण निर्वाचनको क्रममा भएका ती फोहर सफा गर्न एक्लै कस्सिएका छन् । उनी क्लिन नेपालगंज ग्रिन नेपालगंज भन्ने अभियान लिएर हरेक ठाँउमा पुगेर यसरी नै फोहर सफा गर्दै आएका छन् ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार उनले मतदानस्थल रहेको रंगशाला परिसर र भित्री कोठामा घुमिघुमी पानीका खाली बोतल र प्रचारका लागि प्रयोग गरिएको प्रचाहरु बटुल्दै झाडुले सफा गरेका थिए ।