बाँके । मुस्लिम धर्मावलम्बीको एक महिने रोजा पर्वले नेपालगन्ज नगर र मस्जिदहरुमा रौनकता बढ्एको छ । नेपालगंज ४ मा रहेको फैजान–ए–रमजान मस्जिदमा भेला भएर मुस्लिम धर्मावलम्बीहरुले तराबी नमाज पढ्दै रमजान मनाइरहेका छन् ।
रमजानको महिनामा मस्जिदहरुमा हुने तराबी अर्थात कुरआनको पाठ २४ रोजा पुगेको अवसरमा बिहिबार राती फैजान–ए–रमजान मस्जिदमा भव्य रुपमा सम्पन्न भएको छ ।
कुरआन पढेर सुनाएको भन्दै मुस्लिमहरुले उक्त मस्जिदका धर्मगुरु गुलाम रब्बानीलाई १ लाख १२ हजार नगद राशिले सम्मान गरेका छन् ।
कुरआन बाचनको समापनसँगै मुस्लिमहरुले देशमा अमनचैन र दीर्घकालीन शान्ति स्थापना होस् भनी अल्लाहसँग प्रार्थनासमेत गरेका छन् ।
मुस्लिम समुदायका लागि रमजानको महिना मलिन आत्माले पवित्रता प्राप्त गर्ने महिना हो । यो पवित्रता प्राप्त गर्ने विभिन्न तरिकामध्ये तराबी पनि एक हो । तराबी अरबी शब्द “तरवीहा” को बहुवचन हो जसको अर्थ हुन्छ आराम गर्नु । यसलाई यो नाम दिनुको कारण हरेक चार रकातपछि नमाजीहरुले केहीछिनको लागि आराम गर्ने चलन छ ।
तराबी “तहज्जुद” नमाजकै अर्को रुप हो जसमा मानिसहरु राति उठेर अल्लाहलाई सम्झन्छन् । तराबी नमाजमा मुस्लिमहरु एक इमामको पछाडि उभिएर कुरआनको वाचन सुन्छन् र अल्लाहले पठाएको सन्देशलाई मनन् गर्छन् । कुरआनको वाचन सकिए पनि तराबीको नमाज रमजान महिनाभरि हुने दावते इस्लामी नेपालका प्रमुख धर्म गुरु फजल हकले जानकारी दिनु भयो ।
रमजान महिनाको अन्तीम शुक्रबार आज मुस्लिमहरु सामूहिक रुपमा मस्जिदहरुमा जम्मा भएर अल्बिदाको नमाज पढ्ने धर्म गुरु फजल हकले बताउनु भयो । उहाँले भन्नुभयो, हजारौको संख्यामा मुस्जिदहरु म्ुस्लिमहरु पुगेर नमाज पढ्ने गरे पनि संचारकर्मीहरुलाई समाचार संकलनमा समस्या आउने गरेकोले दावते इस्लामीले नेपालगंज ५ मा स्थापना गरेको फैजाने मदिना मस्जिदमा सहज रुपमा समाचार संकलन गर्ने व्यवस्था मिलाएको जानकारी दिनु भयो ।