बाँके । बाँकेको डुडुवा गाउँपालिकाका स्वास्थ्यकर्मीहरूको कुपोषण पहिचान, उपचार तथा व्यवस्थापनसम्बन्धी ज्ञान, सीप र प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित तीनदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।
पोषणका लागि जीवन परियोजना अन्तर्गत बाँके युनेस्को क्लबको प्राविधिक सहयोग, हेलेन केलर इन्टरनेसनल नेपाल (एचकेआई)को आर्थिक सहयोग तथा स्वास्थ्य कार्यालय, बाँकेको आयोजनामा डुडुवा गाउँपालिकाका स्वास्थ्यकर्मीहरूका लागि तीव्र कुपोषणको एकीकृत व्यवस्थापन सम्बन्धी तालिम दुई चरणमा सञ्चालन गरिएको हो ।
दुई चरणमा सम्पन्न तालिममा डुडुवा गाउँपालिकाका वडा नं. १ देखि ६ सम्म कार्यरत ५९ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।
तालिमको मुख्य उद्देश्य कुपोषणको समयमै पहिचान, परीक्षण, उपचार, परामर्श, अभिलेखीकरण तथा प्रतिवेदन प्रणालीलाई प्रभावकारी बनाउँदै समुदाय तथा स्वास्थ्य संस्थास्तरबाट गुणस्तरीय पोषण सेवा प्रवाह सुनिश्चित गर्नु रहेको थियो ।
तालिम उद्घाटनका क्रममा स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख सुनिता पौडेलले नेपालमा कुपोषणको अवस्था तथा विशेषगरी बाँके जिल्लामा देखिएको पोषणसम्बन्धी अवस्थाबारे जानकारी गराउँदै कुपोषण न्यूनीकरणका लागि स्वास्थ्यकर्मीको प्राविधिक क्षमता अभिवृद्धि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले उपचारमा प्रयोग हुने पोषणयुक्त चिकित्सकीय आहारको उचित प्रयोग, व्यवस्थापन तथा आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य कार्यालय, बाँकेकी पोषण फोकल व्यक्ति बसन्ती मल्लले तालिमको औपचारिक उद्घाटन गर्दै कुपोषणको समस्या समाधानका लागि यसको गहिरो विश्लेषण, तथ्यमा आधारित योजना तथा प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई कार्यक्षेत्रमा व्यवहारिक रूपमा प्रयोग गर्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्नुभयो ।
तालिममा अद्यावधिक तीव्र कुपोषणको एकीकृत व्यवस्थापन निर्देशिका, मापदण्ड तथा उपचारसम्बन्धी प्रोटोकलअनुसार विभिन्न सैद्धान्तिक तथा व्यावहारिक सत्र सञ्चालन गरिएको थियो । सहभागीको सक्रिय सहभागितालाई प्राथमिकता दिँदै प्राविधिक प्रस्तुति, समूहगत छलफल, अनुभव आदानप्रदान, व्यावहारिक अभ्यास तथा प्रदर्शनात्मक विधि अपनाइएको थियो।
तालिममा छ महिनाभन्दा कम उमेरका शिशु तथा ६ देखि ५९ महिनासम्मका बालबालिकामा कुपोषण व्यवस्थापन, बाह्य उपचार केन्द्रमार्फत उपचार तथा व्यवस्थापन, शारीरिक मापन, प्राथमिकता निर्धारण प्रक्रिया, भोक परीक्षण, परामर्श, तयार चिकित्सकीय पोषणयुक्त आहार तथा सुपर सिरियल प्लसको प्रयोग र सेवन विधि लगायतका विषयमा प्रशिक्षण दिइएको थियो।
त्यसैगरी कुपोषण उपचारमा प्रयोग हुने चिकित्सकीय पोषणयुक्त आहारको व्यवस्थापन, भण्डारण तथा आपूर्ति प्रणाली, कुपोषित बालबालिकाको अनुगमन, उपचारपछिको फलोअप तथा आवश्यकताअनुसार अन्य स्वास्थ्य संस्थामा प्रेषण गर्नेलगायतका विषयमा समेत सहभागीलाई व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।
तालिममा हेलेन केलर इन्टरनेसनलका क्षेत्रीय अधिकृत लीलबहादुर नेपाली तथा बाँके युनेस्को क्लबकी कार्यक्रम संयोजक दृष्टि शाहले सहजीकरण गर्नुभएको थियो। स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख सुनिता पौडेल तथा पोषण फोकल व्यक्ति बसन्ती मल्लबाट समेत आवश्यक प्राविधिक सहयोग तथा मार्गदर्शन प्रदान गरिएको थियो।
तालिमको समग्र व्यवस्थापन तथा समन्वय पोषणका लागि जीवन परियोजनाका कार्यक्रम संयोजक दृष्टि शाह र अनुगमन, मूल्याङ्कन तथा सिकाइ अधिकृत अनु चौधरीको समन्वयमा गरिएको थियो।
तालिमले स्वास्थ्यकर्मीको प्राविधिक क्षमता अभिवृद्धिसँगै कुपोषण व्यवस्थापनमा संलग्न विभिन्न निकायबीचको समन्वय, सहकार्य तथा साझा उत्तरदायित्वलाई समेत थप मजबुत बनाएको आयोजकले जनाएको छ। तालिमपछि डुडुवा गाउँपालिकाका वडा तथा समुदायमा कुपोषित बालबालिकाको समयमै पहिचान, उपचार, परामर्श, प्रेषण तथा फलोअप अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
समापन कार्यक्रममा स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख सुनिता पौडेलले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई स्वास्थ्यकर्मीहरूले आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले समुदायमा कुपोषणको समस्या न्यूनीकरण गर्दै यसको अन्त्यतर्फ अघि बढ्न स्वास्थ्य कार्यालयबाट आवश्यक सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।