बाँके । रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि भारतको मुम्बईबाट मुस्लिम धर्मगुरुसहितको टोली नेपाल आइपुगेको छ । रजा एकेडेमी मुम्बई, महाराष्ट्रका अध्यक्ष तथा संस्थापक अल्हाज मोहम्मद सईद नूरीसहितको टोली उलेमा फाउन्डेसन नेपाल बाँकेको पहलमा नेपालगञ्ज हुँदै रसुवा प्रस्थान गरेको हो ।
मुम्बईबाट नेपालगञ्ज आइपुगेका नूरीसहित मौलाना एजाज अहमद, कारी अब्दुर्रहमान, डा. रइस रजवी, मौलाना मोहम्मद मुस्तफा रजा र कारी सनिउल्लाहलाई उलेमा फाउन्डेसन नेपाल बाँकेका अध्यक्ष हाजी नसरुद्दीन अन्सारी, फाउन्डेसनका लुम्बिनी प्रदेश इन्चार्ज मुफ्ती कहफुलवरा खानलगायतले नेपालगञ्जमा स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा फाउन्डेसनका लुम्बिनी प्रदेश इन्चार्ज खानले नेपाली नागरिक विपद्मा परेका बेला छिमेकी मुलुक भारतको मुम्बईबाट सहयोगको भावना बोकेर नेपाल आउनु नेपाली मुस्लिम समुदायका लागि मात्र नभई सम्पूर्ण नेपालीका लागि खुसी र आत्मीयताको विषय भएको बताउनुभयो ।
“दुःख र विपद्को समयमा मानवताको कुनै सीमा हुँदैन । नेपाली दाजुभाइ तथा दिदीबहिनीको पीडामा साथ दिन भारतबाट यहाँसम्म आउनुभएकोमा हामी हार्दिक आभार व्यक्त गर्दछौँ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा रजा एकेडेमीका संस्थापक तथा अध्यक्ष नूरीले रसुवा लगायतका जिल्लामा आएको विपद्का घटनाले आफूहरूलाई समेत मर्माहत बनाएको बताउनुभयो । उहाँले प्रभावित क्षेत्रमा पुगेर वास्तविक अवस्थाको अध्ययन गर्ने र स्थानीय सरकारका प्रमुख तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यकताका आधारमा राहत सामग्री वितरण गरिने जानकारी दिनुभयो ।
उहाँले विपद्बाट प्रभावित नागरिकको जीवन सहज बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रभावित परिवारको सुरक्षित जीवन र शीघ्र पुनःस्थापनाका लागि प्रार्थना गर्नुभयो ।
उलेमा फाउन्डेसन नेपाल बाँकेका अध्यक्ष हाजी नसरुद्दीन अन्सारीले रजा एकेडेमीसहित भारतबाट आएको टोलीलाई धन्यवाद दिँदै फाउन्डेसनले विपद्का समयमा निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । उहाँले राहत सहयोगको तेस्रो चरणमा फाउन्डेसन सक्रिय रहेको जानकारी दिँदै नेपाली नागरिकको पीडामा साथ दिन भारतबाट आएका धर्मगुरु तथा सहयोगीप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा फाउन्डेसनका कारी कय्युम, विभिन्न मस्जिदका धर्मगुरु, समाजसेवी हाजी रज्जब अन्सारी, मोहम्मद ज्याउल हक लगायतको सहभागिता थियो ।
रजा एकेडेमी मुम्बईका संस्थापक नूरीसहितको भारतीय धर्मगुरुको टोली स्थलमार्ग हुँदै बुधबार नै रसुवातर्फ प्रस्थान गरेको छ । टोलीले प्रभावित क्षेत्रमा पुगेर स्थानीय तहसँग समन्वय गरी राहत तथा सहयोगका लागि आवश्यक पहल गर्ने जनाएको छ ।