बाँके । सरकारले देशभरका सरकारी तथा सार्वजनिक संस्थामा सरसफाइलाई संस्थागत गर्ने उद्देश्यसहित सुरु गरेको ‘राष्ट्रिय सरसफाइ सप्ताह’ अभियानलाई बाँकेको जानकी गाउँपालिकाले उत्साहपूर्वक साथ दिएको छ । बहुजातीय, बहुसांस्कृतिक तथा मधेशी, मुस्लिम र दलित समुदायको बाक्लो बसोबास रहेको यस पालिकाले बिहीबार गाउँपालिका परिसरमै सरसफाइ गरेर अभियानको औपचारिक शुभारम्भ गरेको हो ।
संघीय सरकारले सोमबारदेखि जेठ ८ गतेसम्म संघ, प्रदेश तथा स्थानीय तह अन्तर्गतका सरकारी कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थामा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै जानकी गाउँपालिकाले पनि त्यसलाई व्यवहारमै उतार्ने प्रयास थालेको जनाएको छ ।
गाउँपालिका अध्यक्ष छब्बन खाँले आफ्नै हातले सरसफाइ गर्दै अभियानको उद्घाटन गर्नुभयो । सरसफाइ केवल कार्यक्रम वा औपचारिकतामा सीमित नहुने उल्लेख गर्दै उहाँले यसलाई जनजीवनको संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष खाँले भावुक र दृढ शैलीमा भन्नुभयो,“हामी विकासका धेरै कुरा गर्छौं, तर सरसफाइ बिना कुनै पनि विकास दिगो हुँदैन । सफा वातावरणले मात्रै स्वस्थ समाज निर्माण गर्न सक्छ । पालिकामा दैनिक सयौँ सेवाग्राही आउनुहुन्छ, त्यसैले हामीले परिवर्तनको सुरुवात यहीँबाट गरेका हौँ । कार्यालय सफा भयो भने सेवाग्राहीको मनमा पनि सकारात्मक सन्देश जान्छ । सरसफाइ अरूलाई सिकाउने कुरा मात्र होइन, आफैँबाट सुरु गर्नुपर्ने जिम्मेवारी हो ।”
उहाँले अझ थप्नुभयो,“अब हाम्रो अभियान पालिका भवनभित्र मात्र सीमित रहने छैन । विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय, बजार क्षेत्र र सार्वजनिक स्थलसम्म यो अभियानलाई निरन्तर लैजान्छौँ । प्रत्येक नागरिकले आफ्नो घर, आँगन, बाटो, विद्यालय र कार्यालयलाई आफ्नै जिम्मेवारी ठानेर सफा राख्नुपर्छ । जब समाजका हरेक व्यक्तिले सरसफाइलाई आफ्नो दैनिक बानी बनाउँछन्, तब मात्रै साँचो अर्थमा सभ्य र स्वस्थ समाज निर्माण हुन्छ ।”
गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले सरकारले स्वीकृत गरेको ‘सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शक २०८३’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार कार्यालय सरसफाइ, शौचालय स्वच्छता, क्यान्टिन व्यवस्थापन, फोहोर व्यवस्थापन, सेवाग्राही सन्तुष्टि र संस्थागत अनुगमनलाई अभियानका मुख्य सूचकका रूपमा लिइएको छ ।
उपाध्यक्ष यादवले सामाजिक चेतनाको अभावप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो,“हामी अझै पनि सरसफाइलाई व्यक्तिगत जिम्मेवारीभन्दा अरू कसैको कामजस्तो ठानिरहेका छौँ । सडक पेटीमा पशु बाँध्ने, जथाभावी फोहोर फाल्ने र सार्वजनिक स्थल दुर्गन्धित बनाउने प्रवृत्ति अझै रोकिएको छैन । यस्तो प्रवृत्तिले समाजलाई नै अस्वस्थ बनाउँछ । अब चेतना मात्र होइन, आवश्यक परे कडा निगरानी र कारवाहीको नीति पनि लिनुपर्छ ।”
उहाँले थप्नुभयो,“सरसफाइ बिना मानिसको जीवन स्वस्थ र सम्मानित बन्न सक्दैन । सफा वातावरणले मात्रै बालबालिकाको भविष्य सुरक्षित हुन्छ, रोग कम हुन्छ र समाजमा अनुशासन बढ्छ । त्यसैले यो अभियानलाई एक हप्ताको कार्यक्रम नभई सामाजिक आन्दोलनका रूपमा अघि बढाउन आवश्यक छ ।”
निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णा कुमारी भण्डारीले कार्यविधिअनुसार कार्यालय वरपर १०० मिटर क्षेत्रभित्रको सरसफाइसमेत सम्बन्धित कार्यालयकै जिम्मेवारीभित्र पर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“अब प्रत्येक कार्यालय प्रमुखले नियमित अनुगमन, मूल्यांकन र प्रतिवेदन प्रणाली लागू गर्नुपर्ने व्यवस्था गरिएको छ । सरसफाइलाई एक दिनको अभियान बनाएर छोडिँदैन । यसलाई वर्षभरि निरन्तर सञ्चालन गरिनेछ ।”
भण्डारीका अनुसार अब सरकारी कार्यालयभित्र रहेका सूचना बोर्ड, नागरिक वडापत्र तथा सङ्केत चिह्नहरूलाई थप व्यवस्थित र स्पष्ट बनाइनेछ । चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत, रंगरोगन तथा सेवा क्षेत्रलाई आकर्षक र व्यवस्थित बनाउने तयारीसमेत सुरु गरिएको उहाँले बताउनुभयो ।
उहाँले थप्नुभयो,“सेवाग्राही कार्यालयमा आउँदा पहिलो प्रभाव नै स्वच्छता र व्यवस्थित वातावरणले पार्छ । त्यसैले अब सरकारी कार्यालयलाई सेवामैत्री, सफा र व्यवस्थित बनाउने दिशामा काम अघि बढाइनेछ ।”
कार्यक्रममा पालिका परिसरको व्यापक सरसफाइ गरिएको जानकारी दिँदै विपद् शाखा प्रमुख राजेन्द्र बाजपाई ले समुदायस्तरसम्म अभियान विस्तार गरिने बताउनुभयो ।
कार्यक्रममा योजना शाखा प्रमुख शोभा पौडेल, सूचना प्रविधि अधिकृत विकास जिसी, प्रशासन शाखा प्रमुख गोपी चौलागाई लगायत विभिन्न शाखाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।
जानकी गाउँपालिकाले सुरु गरेको यो अभियान केवल सरकारी कार्यक्रम मात्र नभई सामाजिक व्यवहार परिवर्तनको सन्देशका रूपमा हेरिएको छ । विविध समुदायको साझा बसोबास रहेको यस पालिकाबाट उठेको “सरसफाइ आफैँबाट सुरु गरौँ” भन्ने सन्देशले स्थानीय तहमा सकारात्मक उदाहरण प्रस्तुत गरेको छ ।