नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–४ का पूर्व वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. एक लाख ५१ हजार एक सय सहयोग गर्नुभएको छ ।
बेहनाले सहयोगस्वरूप जम्मा गरेको रकमको भौचर बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई हस्तान्तरण गर्नुभएको हो ।
भाद्र १० गते बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बेहनाले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
राष्ट्रिय विपद्को यस घडीमा राज्यसँगै नागरिक पनि उभिनुपर्ने बताउँदै बेहनाले उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउन सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले विपद्का बेला नेपालका सम्पूर्ण मुस्लिम समुदायलाई एकताबद्ध भई उद्धार तथा राहतका कार्यमा सहयोग गर्नसमेत आह्वान गर्नुभएको छ ।
बेहनाले विपद्पछिको कठिन अवस्थामा सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरकारी संयन्त्रले देखाएको तत्परता र अथक प्रयासप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । प्रभावित जिल्लाका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै आपत्कालीन उद्धार तथा राहतका लागि सरकारले गरिरहेको समन्वयको उहाँले प्रशंसा गर्नुभयो ।
सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा प्रयासबाट मात्रै विपद् व्यवस्थापन प्रभावकारी बन्न सक्ने उल्लेख गर्दै बेहनाले राज्यले आह्वान गर्ने मानवीय सहयोगका कार्यमा आफू सधैँ तयार रहेको बताउनुभयो । मुलुकको आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्सँग जुध्ने वातावरण निर्माण गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभएको छ ।
‘बेहनाको सहयोग रकमभन्दा ठूलो उहाँको मानवीय भावना हो’
सहयोग रकम बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले मोहम्मद सफिक बेहनालाई धन्यवाद दिँदै विपद्को समयमा गरिएको सहयोगले प्रभावित नागरिकको पीडामा मल्हम लगाउने काम गर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी तामाङले भन्नुभयो, “विपद्को समयमा कसैले आफ्नो व्यक्तिगत सुख–सुविधाभन्दा माथि उठेर पीडित नागरिकको दुःखलाई आफ्नो दुःख सम्झेर सहयोग गर्नु आफैँमा ठूलो मानवीय कार्य हो। बेहनाले आज गर्नुभएको सहयोग रकमको मूल्य आफ्नो ठाउँमा छ, तर त्यससँग जोडिएको मानवीय भावना अझ महत्वपूर्ण छ।”
उहाँले बेहनाले विगतदेखि नै संकटमा परेका नागरिकलाई सहयोग गर्दै आउनुभएको स्मरण गर्दै कोरोना महामारीका समयमा अक्सिजनको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रु. दुई लाख नगद सहयोग गर्नुका साथै गरिब तथा विपन्न परिवारलाई खाद्यान्नसमेत उपलब्ध गराउनुभएको उल्लेख गर्नुभयो ।
“कोरोना महामारीजस्तो कठिन परिस्थितिमा अक्सिजन नपाएर कसैले ज्यान गुमाउन नपरोस् भनेर उहाँले व्यक्तिगत रूपमा रु. दुई लाख सहयोग गर्नुभयो, गरिब तथा विपन्न परिवारका लागि खाद्यान्न जुटाउनुभयो। आज फेरि प्राकृतिक विपद्का कारण पीडामा रहेका नागरिकका लागि सहयोग गर्नुभएको छ। यसले उहाँ मानवीय सेवामा अग्रपंक्तिमा रहेर निरन्तर काम गर्दै आउनुभएको प्रमाणित हुन्छ,” प्रमुख जिल्ला अधिकारी तामाङले भन्नुभयो ।
उहाँले विपद् कुनै जात, धर्म, भूगोल वा समुदाय विशेषको समस्या नभई सबैको साझा चुनौती भएकाले संकटको समयमा एकअर्काको पीडामा साथ दिनुपर्ने बताउनुभयो ।
“सरकारले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छ। सुरक्षा निकाय, स्थानीय प्रशासन, जनप्रतिनिधि, सामाजिक संघसंस्था र आम नागरिक सबैको सहकार्य भयो भने मात्रै विपद्को पीडा कम गर्न सकिन्छ। बेहनाजस्ता सामाजिक भावना भएका व्यक्तिको सहयोगले राज्यका प्रयासलाई थप बल पुग्छ र पीडित नागरिकमा आशा जगाउँछ,” उहाँले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी तामाङले विपद्का बेला गरिएको सानोभन्दा सानो सहयोगले पनि पीडित परिवारका लागि ठूलो अर्थ राख्ने उल्लेख गर्दै समाजका सबै सक्षम व्यक्ति तथा संस्थालाई आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत तथा उद्धार अभियानमा जोडिन आग्रह गर्नुभयो ।
उहाँले बेहनाको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि मानवीय सेवाका क्षेत्रमा यस्ता उदाहरणीय कार्यले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।