बाँके । विपद्का घटनाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले बाँकेको जानकी गाउँपालिकामा सञ्चालन गरिएको तीन दिने विपद् उद्धार टोली क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
जानकी गाउँपालिकाको आर्थिक सहयोग तथा सामाजिक जागरण नेपालद्वारा आयोजित तालिममा गाउँपालिकाका वडा नम्बर १ देखि ६ सम्मका ३० जना स्थानीयको सहभागिता रहेको थियो। तालिममा सहभागीलाई विपद् व्यवस्थापन, खोज तथा उद्धार, प्राथमिक उपचार र आपत्कालीन प्रतिकार्यसम्बन्धी व्यवहारिक ज्ञान तथा सीप प्रदान गरिएको हो।
विपद् व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंहले जोखिम न्यूनीकरणका लागि समुदायस्तरमै दक्ष जनशक्ति आवश्यक रहेको बताउँदै आपत्कालीन अवस्थामा बचाव, खोज तथा उद्धार, प्राथमिक उपचार लगायतका विषयमा व्यवहारिक अभ्याससहित प्रशिक्षण दिइएको जानकारी दिनुभयो ।
सामाजिक जागरण नेपालका अध्यक्ष श्याम बर्माका अनुसार तालिममा आगो नियन्त्रण, पानीजन्य जोखिम व्यवस्थापन, आवाजको माध्यमबाट खोज तथा उद्धार, आगो निभाउने तरिका, प्राथमिक उपचार, तथा विपद्को समयमा सूचना तथा सन्देश प्रवाह कसरी गर्ने भन्ने विषयमा सहभागीलाई अभ्याससहित प्रशिक्षण प्रदान गरिएको थियो ।
प्रशिक्षक राजेन्द्र बाजपाइले समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धी आधारभूत ज्ञान र सीप विकास गर्ने, विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक जनशक्ति तयार गर्ने, तथा आपत्कालीन अवस्थामा समुदाय र सरकारी निकायबीच समन्वय मजबुत बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो।
तालिममा सन्तोष यादव, गाउँपालिकाका विपद् शाखा प्रमुख बजापाइ लगायतले सहजिकरण गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले समुदायलाई आत्मनिर्भर बनाउँदै विपद् व्यवस्थापनमा सक्षम जनशक्ति उत्पादन गर्नु तालिमको मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाँले ग्रामीण क्षेत्रमा आगलागी, बाढी, हावाहुरी तथा विभिन्न दुर्घटनाका घटना बढ्दै गएको अवस्थामा यस्ता तालिम अत्यन्तै उपयोगी हुने उल्लेख गर्नुभयो ।
समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँले विपद्को समयमा पहिलो उद्धारकर्ता समुदाय नै हुने भएकाले स्थानीय तहमा दक्ष जनशक्ति तयार गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले सिकेको सीपलाई व्यवहारमा उतारेर समुदायको सुरक्षामा योगदान दिन सहभागीलाई आग्रह गर्नुभयो।
उपाध्यक्ष यादवले तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा सहभागीलाई बधाई ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा सामाजिक विकास समितिका संयोजक राम अचल धोबी, योजना शाखा प्रमुख शोभा पौडेल, सुचना प्रविधि अधिकृत बिकास जिसी, प्रशासन शाखा प्रमुख गोपी चौलागाईं, गाउँपालिका अध्यक्षका निजि सल्लाहकार सोहराब इद्रीसी,नम्बर ६ का सदस्य अजमत अली लगायतको उपस्थिति रहेको थियो । भने तालिममा ३० जना स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।