बाँके । बाँकेको क्षेत्र नं. २ मा यसपटक चुनावी माहोल सामान्य छैन । चौक–चौराहादेखि चियापसल, खेत–खलियानदेखि घरआँगनसम्म एउटै आवाज गुञ्जिन थालेको छ,“यो पटक स्वार्थी राजनीति होइन, संघर्षबाट आएको उम्मेदवारलाई जिताउने हो ।”
जेन–जी आन्दोलनबाट जन्मिएको चेतना अब नारामा सीमित छैन, त्यो मतपेटिकासम्म पुगेको छ। यही आन्दोलनमा होमिएका, तारा चुनाव चिन्हबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिपेन्द्र बिष्ट बाँके–२ का मतदाताहरूको भरोसाको केन्द्र बन्दै गएका छन् ।
बिहिबार क्षेत्र नं. २ अन्तर्गत डुडुवा गाउँपालिकामा भएको मतदाता संवादले यो परिवर्तनलाई अझ स्पष्ट बनायो । संवादका क्रममा स्थानीय मतदाताहरूले आक्रोश र दृढताका साथ भने-“राजनीतिलाई व्यापार बनाउनेहरूलाई अब एक मत पनि दिँदैनौँ। पीडाबाट जन्मिएको उम्मेदवारीलाई जिताएर इतिहास बदल्छौँ।”
डुडुवा–५ की रिता दाहालले विगतको राजनीतिक अभ्यासप्रति आक्रोश व्यक्त गर्दै भन्नुभयो,“हामीले धेरैलाई जितायौँ, तर कसैले हाम्रो पीडा बुझेन। यसपटक युवा, इमानदार र आन्दोलनबाट आएको उम्मेदवारलाई जिताउने निर्णय गरिसकेका छौँ। दिपेन्द्र बिष्ट हाम्रो पुस्ताको आशा हुन् ।”
त्यस्तै डुडुवा–२ का निसार खाँले स्पष्ट शब्दमा भने,“जो सत्ताको आडमा राजनीति गर्छन्, उनीहरूलाई अब यहाँ ठाउँ छैन। संघर्षमा हाम्रो साथमा उभिएको मान्छेलाई संसद् पठाउने हो। तारा चिन्ह हाम्रो भोटको गन्तव्य हो ।”
डुडुवा–१ चौफेरीका राधेश्याम यादवका अनुसार अब मतदाताले अनुहार होइन, इतिहास हेरेर निर्णय गर्न थालेका छन् ।
उहाँले भन्नुभयो,“दरबार र शक्ति केन्द्रबाट आएका नेताले होइन, गाउँ–गाउँको पीडा बुझेको प्रतिनिधि चाहिएको हो। दिपेन्द्र बिष्ट त्यही आवाज हुन्।”
स्थानीय मतदाताहरूका अनुसार दिपेन्द्र बिष्ट कुनै राजनीतिक वंशका उत्तराधिकारी होइनन्, न त सत्ताको छायाँमा हुर्किएका नेता। जेन–जी आन्दोलनका क्रममा उठेका न्याय, रोजगारी, सम्मान र उत्तरदायी राजनीतिका मुद्दाले मतदातालाई गहिरो रूपमा छोएको देखिन्छ।
डुडुवामा देखिएको यो उत्साह केवल एउटा पालिकासम्म सीमित छैन। बाँके–२ का विभिन्न बस्तीमा फैलिँदै गएको यो लहरले चुनावी समीकरण नै उल्ट्याउने संकेत गरेको छ।
तारा चुनाव चिन्ह अब केवल चुनाव चिन्ह मात्र होइन- यो बनेको छ आशा, परिवर्तन र पुरानो राजनीतिक चरित्रविरुद्धको जनमत ।
चुनावी मिति नजिकिँदै जाँदा बाँके–२ मा एउटा कुरा भने प्रष्ट बन्दै गएको छ, यो पटक मतदाता मौन छैनन् । उनीहरू निर्णय गरिसकेका छन् । र त्यो निर्णयको केन्द्रमा छन् जेन–जी आन्दोलनबाट उठेका युवा उम्मेदवार दिपेन्द्र बिष्ट।