राप्तीको बगरमा भारतीयको लहलहाउँदो तरकारी खेती

यूथ टुडे समाचारदाता 3272+ समाचार ( )
राप्ती बगरको तरकारी खेतीले भारतीय तरकारीको आयात घटदै
२७ चैत्र २०८०, मङ्गलबार

बाँके । स्वदेशमा रोजगारीको अवसर नभएको बहाना गर्दै विदेशीनेको संख्या बाँकेमा बढ्दो छ । भारतीयहरूले परिवारसहित यहाँ आएर वर्षेनी लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।    

भारतको उत्तर प्रदेश बागपतका साबेज खान राप्ती नदीको बगरलाई तरकारी उत्पादनका लागि रोज्नु भएको छ । उहाँले सित्तैमा पाएको बगरमा तरकारी उत्पादन गरी लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको बताउनु भयो ।

राप्ती नदीको ४८ विघा बगरमा उहाँले फर्सी, कांक्रा, टमाटर, लौका, तरभुजा, खरभुजा लगायतको खेती गरेको बताउनु भयो । नदीको बगरमा झोपडी बनाएर परिवारका आठ जना सदस्यहरुको सहयोगमा बगर खेती गरी रहेको जानकारी दिनु भयो । उहाँले भन्नुभयो,‘एक्लैले बगरमा काम गर्न र रेखदेख गर्न अप्ठेरो हुने हुँदा आमा, दिदी, बहिनी, भाई, श्रीमति र बच्चाहरुलाई आफूसँगै राखेर काम गर्दै आएको छु ।’ 

बगरको झण्डै ४८ बिघा जग्गामा गरिएको काँक्रा, फर्सी, लौका, खरबुजा लटरम्म फलेको देखिँदा साबेज खान समेतको कृषक समूहले गरेको मेहेनत र परिश्रम झल्किन्छ । बगरमै पुग्ने उपभोक्तालाई तरकारी टिपेर बिक्री गर्दैगर्दा सन्तुष्टि देखिने बगरका कृषक यस वर्ष सोचे भन्दा राम्रो तरकारी बिक्री हुने विश्वस्त रहेको खानले बताउनु भयो ।     

बगरको खेतीका लागि डुडुवा गाँउपालिका वडा नं. ५ का जयराम यादवले ४८ बिघा जग्गा निशुल्क रुपमा दिएको बताउनु भयो । उहाँले भन्नुभयो राप्तीले खेती योग्य जमिनलाई बगरको रुपमा परिणत गरे पछि बाँझो जमिनलाई कसैले उपयोग गर्न चाहन्छ भने निशुल्क भए पनि दिनु पर्छ भन्ने सोच बनाएका बेला भारतीय नागरिक साबेज संग भेट हुन पुग्यो, उहाँले तरकारी खेती गर्ने इच्छा जाहेर गरे पछि मैले जग्गाको पैसा नलिने सर्तमा खेती गर्न दिएको बताउनु भयो । उहाँले यो वर्ष खानले उत्पादन गरेको तरकारीबाट सिकाई भएको बताउदै अर्को बर्ष देखि आफै तरकारी उत्पादन गर्ने जिकिर गर्नु भयो ।

बगरमा तरकारी खेती गर्दै आएका भारतीय मंसिरमै यहाँ बगर खेतीका लागि आउने र असारको पहिलो सातासम्म यहाँ बस्ने गरेका छन् । त्यसपछि उहाँहरू तरकारी उत्पादनको कार्य सकिएपछि भारत तर्फ फर्किने गरेको खानले बताउनु भयो । 

राप्ती नदीको बगर क्षेत्रमा खेती विस्तार हुँदै जाँदा भारतीय क्षेत्रबाट गर्मीयाममा नेपालगंजमा आपूर्ति हुने गरेको तरकारीको परिमाण घट्दै गएको छ । राप्तीको बगरमा भारतीयहरूले उत्पादन गरेको तरकारी नेपालगंज, बुटवल र काठमाडौंसम्म आपूर्ति गर्ने खानले बताउनु भयो । 

जग्गा धनी यादवले भन्नुभयो, गाँउपालिका र वडा कार्यालयलाई भारतीयहरूले बगरमा खेती गरे वाफतको कुनै किसिमको कर तिर्नु पर्दैन् । रेडियो नेपाल संग कुरा गर्दै खानले भन्नुभयो,‘भारतमा खेती योग्य जग्गा खोज्न निकै मुश्किल छ । नेपालमा सित्तैमा जग्गा पाइने र मनग्य आम्दानी हुने गरेकाले खेतीका लागि बाँकेको राप्ती बगरलाई रोजेको हो ।’ 

खानले भन्नुभयो, भारतीय एक दर्जन बढी परिवार राप्ती नदी किनारको बगरमा तरकारी उत्पादनको कार्य गर्दै आएका छन् ।

नेपालीहरूले स्वदेशमा श्रम गर्न नमान्ने गरेकाले नै विदेश जानु परेको भारतीय तरकारी उत्पादनमा लागेकाहरूको भनाइ रहेको छ । खानले भन्नुभयो, ‘स्वदेशमै अथाह आम्दानीका श्रोतहरू भए पनि नेपालीहरुले माल भएर पनि चाल पाएका छैन्न ।’ 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार