बर्दिया । मधुवन नगरपालिका र बाँके युनेस्को क्लबको आयोजनामा साथै राजापुर नगरपालिकाको सहकार्यमा, प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा ‘सुरक्षा परियोजना’ अन्तर्गत प्रारम्भिक बालविकास (ईसीडी) र कक्षा १ का शिक्षकहरूका लागि चारदिने तालिम कार्यक्रम बुधवार देखि मधुवन नगरपालिकामा सुरु भएको छ।
कम लागत/शून्य लागतमा शिक्षण सिकाइ सामग्री निर्माण गर्ने तरिका र समावेशी कक्षा व्यवस्थापन प्रविधिको विकासमार्फत शिक्षण अभ्यासमा सुधार ल्याउने उद्देश्यले संचालित उक्त तालिम २०८२ जेठ १५ देखि १८ गतेसम्म सञ्चालन हुनेछ ।
तालिमले प्रारम्भिक कक्षाको सिकाइ वातावरणमा सुधार ल्याउने , सहभागी शिक्षकहरूले स्थानीय स्रोतहरू प्रयोग गरी सजिलो र प्रभावकारी सिकाइ सामग्री बनाउने व्यावहारिक विधिहरू, साथै विविध सिकाइ आवश्यकताहरू भएका बालबालिकालाई लक्षित गर्दै समावेशी सिकाइ वातावरण निर्माण गर्ने उपायहरूबारे समेत मार्गदर्शन दिइनेछ।
परियोजना संयोजक श्री ईश्वर बि.क ले तालिमको महत्वलाई जोड दिंदै प्राथमिक शिक्षाको गुणस्तरमा सुधार ल्याउन तथा सबै बालबालिकालाई आकर्षक र प्रभावकारी सिकाइ अनुभव प्रदान गर्न यो तालिम सहयोगी हुने बताए । उनले परियोजनाको दीर्घकालीन उद्देश्य र अपेक्षित परिणामहरूबारे पनि जानकारी दिएका थियो ।
तालिमको सहजीकरण प्रशिक्षक झल कुमारी कार्कीले गरेकी थिन । उनी प्रारम्भिक कक्षाका शिक्षण रणनीति र समावेशी शिक्षण अभ्यासमा विज्ञ मानिन्छिन्। कार्यक्रम अन्तरक्रियात्मक सत्र, समूहगत कार्य र व्यवहारिक अभ्यासहरू सहित सञ्चालन भइरहेको छ।
तालिममा सहभागी शिक्षकहरूले कक्षा कोठामा प्रत्यक्ष रूपमा प्रयोग गर्न सकिने नयाँ सीपहरू सिक्न पाउँदा उत्साह व्यक्त गरेका छन्। तालिमले शिक्षक र विद्यार्थी दुवैलाई शिक्षालाई पहुँचयोग्य, आकर्षक र समावेशी बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
तालिममा मधुवन नगरपालिकाको शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनाल र बाँके युनेस्को क्लबकी फिल्ड सुपरभाइजर सबित्रा भाटको समेत सहभागिता रहेको थियो ।