काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रारम्भ भएको छ । महाधिवेशनमा आइतबार दुई हजार ६६२ (५६.१२ प्रतिशत) प्रतिनिधि सहभागी भएका छन् । बदलिँदो राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई सुदृढ बनाउने, जनभावना अनुरूपको नीति निर्माण गर्ने र नयाँ ऊर्जासहितको नेतृत्वमार्फत पार्टी रूपान्तरण र पुनर्निर्माणको दृढ उद्देश्यसाथ कांग्रेसको यो महाधिवेशन सुरु भएको हो ।
दुई हजार ४८८ जना अर्थात् ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएको तीन महिना पुग्न दुई दिनअघि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरिएको हो । कांग्रेस केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने भए पनि उक्त निर्णय नभएपछि केन्द्रीय कार्यालय अर्थात् महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा विशेष महाधिवेशन आरम्भ भएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गतेको बैठकले बहुमतका आधारमा २०८३ वैशाख २८, २९, ३० र ३१ गते पार्टीको १५ औँ महाधिवेशनको मिति तय गरेको थियो तर विशेष महाधिवेशन आयोजक समितिले पार्टी विधान अनुसारै विशेष महाविधेशन आयोजना गरेको प्रस्टीकरण दिएको छ ।
कांग्रेस नेता एवं विशेष महाधिवेशन सचिवालयका सदस्य युवराज पाण्डेयका अनुसार उद्घाटनकै दिन दुई हजार ६६२ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन भएको छ । विशेष महाधिवेशन उद्घाटन समारोहमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, संस्थापन इतर समूहको नेतृत्व गरिरहनुभएका नेता डा. शेखर कोइरालासहित शीर्ष नेतालाई निम्तो गरिए पनि उहाँहरू अनुपस्थित रहनुभयो ।
सभापति देउवानिकट पूर्वउपसभापति गोपालमान श्रेष्ठ, सहमहामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्य पुष्पा भुसालसहित निर्वाचनअघि नै महाधिवेशन हुनुपर्ने माग राख्नुभएका २५ जना केन्द्रीय सदस्य विशेष महाधिवेशनमा सहभागी हुनुभयो । कार्यक्रमका अधिकांश वक्ताले पार्टी सभापति देउवा, कार्यवाहक सभापति खड्कासहित शीर्ष नेताहरू उद्घाटनमा अनुपस्थित भए पनि बन्दसत्रमा सोमबार सहभागी हुने विश्वास व्यक्त गर्नुभयो । महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन उद्घाटन गर्नुभयो ।
देश बदल्ने सङ्कल्प गर्छौं : थापा
महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनमार्फत देश बदल्ने सङ्कल्प गरिने बताउनुभयो । उहाँले विशेष महाधिवेशन शक्ति सङ्घर्ष, पार्टीभित्र सत्ताको सङ्घर्ष नभई विचारको सङ्घर्षका रूपमा अथ्र्याउनुभयो । उहाँले भन्नुभयो, “यो मूल्य र मान्यताको सङ्घर्ष हो ।”
उहाँले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै विशेष महाधिवेशन आह्वान गरिएको बताउनुभयो । उहाँले यत्रो घटना भइसकेपछि पार्टीले चुप लागेर बस्न नमिल्ने र यसलाई सामान्य घटनाका रूपमा पनि लिन नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो उथलपुथल पछाडि एक पटक कांग्रेस अडिनु पर्छ । एक पटक पछाडि फर्कनु पर्छ । एक पटक आफैँभित्र पनि समीक्षा गर्नु पर्छ । कसैलाई गाली गरेर होइन, कसैलाई दोष लगाएर होइन । हामी पनि त्यही रेलभित्रै सवार छौँ । हामी आफैँले पनि जिम्मा लिनु पर्छ ।”
महामन्त्री थापाले नागरिकमा पार्टीहरूसँग निराशा र आक्रोश रहेकै कारण जेनजी आन्दोलनका क्रममा लाखौँ सडकमा उत्रिएको स्वीकार गर्नुभयो । उहाँले भ्रष्टाचार, कुशासन र बेथितिले नागरिक आक्रान्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राजाको छोरा राजा हुने व्यवस्था फालेर बनेको गणतन्त्रमा ‘नेपो–बेबी’ हरूको राज देखेर नागरिक रिसाएको हो । रिसाएकै हो नि ! चित्त दुखाएकै हो नि ! असन्तुष्ट भएकै हो नि ! हाम्रो अगाडिको प्रश्न, त्यसलाई हामीले अनदेखा गर्ने ? त्यसलाई हामीले बेवास्ता गर्ने ? त्यसलाई हामीले बुझ्ने, मनन गर्ने वा सम्बोधन गर्ने भन्ने हो ।”
उहाँले विशेष महाधिवेशनको बन्दसत्रले गर्ने निर्णय आफूले स्विकार्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विशेष महाधिवेशन कहाँ गएर टुङ्गिन्छ मलाई थाहा छैन तर त्यो हाउसले जे निर्णय गर्छ, त्यो स्वीकार्य छ । मैले त्यसलाई मान्नु पर्छ ।”